एसियाली खेलकुदको करातेमा एरिकाले जितिन् ऐतिहासिक रजत पदक

काठमाडौँ – नेपालकी एरिका गुरुङले कराँतेमा ऐतिहासिक रजत पदक जितेकी छन्। कराँतेमा नेपालले एसियाली खेलकुदमा पहिलो पटक रजत पदक जितेको हो।

हाङझाउ जारी १९ औं एसियाली खेलकुदको महिला ६८ केजी तौल समूहमा गुरुङले रजत पदक प्राप्त गरेकी हुन्। समग्रमा उनी कराँतेमा पदक भित्र्याउने तेस्रो खेलाडी बन्दा कराँतेमा रजत जित्ने भने उनी पहिलो खेलाडी बनिन्।

उनले फाइनलमा काजकिस्तानकी सोफ्या बेर्लुत्सेभासँग ३–० ले पराजित हुँदै ऐतिहासिक रुपमा रजत पदक पक्का गरेकी हुन्। एरिकाले कराँते इतिहासमा नै पहिलो पटक रजत जितिन्।

यसअघि नेपालमा सन् १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारी र २०१८ मा प्याराग्लाइडिङमा रजत जितेको थियो। व्यक्तिगत स्पर्धामा २५ वर्षपछि नेपालले रजत जितेको हो। साथै नेपालले लगातार दोस्रो एसियाडमा रजत जित्न सफल भयो।

एरिकाले नेपालका लागि पहिलो ऐतिहासिक स्वर्ण जित्न भने सकिनन्। फाइनल पुग्ने क्रममा उनले सेमिफाइनलमा हङकङकी यान काइ होलाई ८–४ अङ्कले पराजित गर्दै स्वर्ण भिडन्त पक्का गरेकी थिइन्। यसअघि कराँतेमा २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको प्रतिस्पर्धामा विमला तामाङ्गले कास्य पदक जितेकी थिइन्।

एरियकाले आफ्नो स्पर्धामा कडा प्रतिस्पर्धी जापानकी युजुकी सावाएलाई क्वाटरफाइनलमा सेन्सु (पहिलो अङ्क)का आधारमा हराउँदै सेमिफाइनल प्रवेश गरेकी थिइन्। क्वार्टरफाइनलमा १–१ को बराबरी भएपछि पहिलो अङ्कको आधारमा सेमिफाइनलमा स्थान बनाएकी उनले सेमिफाइनलमा भने ८–४ को जितसहित फाइनलमा स्थान बनाइन्। यो नेपालको जारी एसियाली खेलकुदमा दोस्रो पदक हो। यसअघि महिला कबड्डी टोलीले कास्य पदक जितेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×