दार्चुला - दार्चुलाको अपी हिमाल गाउँपालिका–५ तिम्लामा गए राति जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। पाँचजना सख्त घाइते भएका छन्।
मृत्यु हुनेमा अपिहिमाल–६ का १८ वर्षीय दिनेशसिंह धामी छन्। उनको घटनास्थलमै मृत्यु भएको अपी हिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठाकरेले जानकारी दिए।
मार्मा गाउँपालिकाको लटिनाथबाट अपी हिमालको मकरीगाडतर्फ जाँदै गरेको म १ ज २३३ नम्बरको जीप दुर्घटनामा परेको हो। जीप सडकबाट झण्डै २०० मिटर तल खसेको र त्यसमा चालकसहित नौ जना सवार रहेका अपी हिमाल गाउँपालिका–५ का वडाध्यक्ष राजेन्द्रसिंह धामीले बताए। तीन जनाको प्रहरी र स्थानीयले सकुशल उद्धार गरेका छन्। घाइते पाँच जनाको लटिनाथ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।