काठमाडौँ - करिब एक दर्जन कलाकारले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) सँग मंगलबार भेटघाट गरेका छन्। निर्माता निर्देशक अशोक शर्माले सामाजिक सञ्जाल मार्फत भेटबारे जानकारी दिएका हुन्।
भेटमा स्थानीय निकायमा चलचित्र क्षेत्रको समस्या विषयमा छलफल भएको शर्माले बताएका छन्। सो क्रममा कलाकारले स्थानिय मनोरञ्जन कर, वडामा कम्पनी दर्ता, डिजिटल विज्ञापन बोर्ड, नगरका विभिन्न क्षेत्रमा सहज र सहुलियत फिल्म छायाँकन, चलचित्रकर्मी कल्याण कोष लगायतका ५ वटा माग राखेको समेत शर्माले जानकारी दिएका छन्।
कलाकारको माग प्रति मेयर शाह सकारात्मक रहेको शर्माको भनाइ छ। कलाकर्मीको टोलीमा निर्मल शर्मा, दीपाश्री निरौला, खगेन्द्र लामिछाने, रवीन्द्र खड्का लगायत सहभागी भएका थिए।