बाँके जिससको चुनाव जेठ २७ मा हुने

बाँके - जिल्ला समन्वय समिति बाँकेको निर्वाचन यही जेठ २७ गते हुने भएको छ। यसका लागि मतदाता नामावली प्रकाशनलगायतका काम भइरहेको छ।

सो दिन बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म शिक्षा विकास तथा समन्वय एकाइस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतदान हुने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए। जेठ २५ गते बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ। बाँकेमा आठ पालिकाका १६ प्रमुख र उपप्रमुख मतदाता छन्।

जिल्ला समन्वय समितिमा नेपाली कांग्रेसको एकल बहुमत छ। कांग्रेसका १२ मतदाता छन्। स्थानीय चुनाव र कार्यपालिका चुनावमा दुवैमा गठबन्धन गरेको कांग्रेसले जिल्ला समन्वय समितिमा के गर्छ भन्ने टुङ्गो अझै लागेको छैन। समितिमा प्रमुख र उपप्रमुखसहित नौ सदस्य निर्वाचित हुनेछन्। समितिमा तीन सदस्य महिला अनिवार्य हुने व्यवस्था छ। स्थानीय तह निर्वाचन ऐन, २०७३ अनुसार गाउँपालिका र नगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यसमेत जिल्ला समन्वय समितिमा उम्मेदवार हुन पाउँछन्।

जिल्ला समन्वय समिति गठन भएपछि जिल्लासभा गठन हुनेछ। जिल्लासभाको प्रमुख र उपप्रमुखमा जिल्ला समन्वय समितिकै प्रमुख र उपप्रमुख हुन्छन् भने गाउँपालिका र नगरका प्रमुख उपप्रमुख पदेन सदस्य हुन्छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×