काठमाडौँ - नेदरल्याण्ड्सका मुख्य प्रशिक्षक लुइस भान गालले आफ्नो पदबाट राजीनामा दिएका छन्। फिफा विश्वकप कतार २०२२ मा अर्जेन्टिनासँग टाइब्रेकरमा ४-३ ले पराजित हुँदै विश्वकपबाट बाहिरिएपछि प्रशिक्षक गालले पद त्यागको घोषणा गरेका हुन्।
तेस्रो पटक नेदरल्यान्ड्सको जिम्मेवारी सम्हालेका भान गालले टोलीलाई क्वाटरफाइनलभन्दा अघि बढाउन सकेन। भान गालले पछिल्लोपटक ४ अगस्ट २०२१ मा टोलीको प्रशिक्षण सम्हालेका थिए। उनको प्रशिक्षणमा नेदरल्यान्ड्सले २० खेल खेल्दा १४ जित र ६ बराबरीको नतिजा निकालेको छ।
आफ्नो पद त्याग्दै ७१ वर्षीय भान गालले डच फुटबलका लागि लोभलाग्दोे विरासत छोडेको उल्लेख गर्दै उनले खेलाडीप्रति गर्व गरेका छन्। प्रशिक्षक गालले आफ्ना खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको र उनीहरूसँग आफूले गर्विलो क्षण बिताएको बताएका छन्। भान गालले पहिलोपटक सन् २००० मा नेदरल्यान्ड्सको मुख्य प्रशिक्षक बनेका थिए। त्यसबेला उनले ३० नोभेम्वर २००१ सम्म टोलीको प्रशिक्षण सम्हाल्दा १५ खेलमा ९ जित, ४ बराबरी र २ हारको नतिजा निकालेको थियो।
भान गालले दोस्रोपटक २०१२ देखि २०१४ सम्म डच टोलीको प्रशिक्षण सम्हालेका थिए। त्यसबेला २९ खेलमा १८ जित, ९ बराबरी र २ हारको नतिजा निकालेको थियो। त्यसबेला पनि नेदरल्यान्ड्स २०१४ को विश्वकपमा अर्जेन्टिनासँग नै टाइब्रेकरमा पराजित भएको थियो। भान गालले क्लब फुटबलमा आयाक्स, बार्सिलोना, एजेट, बायर्न म्युनिख र म्यानचेस्टर युनाइटेडको प्रशिक्षण सम्हालिसकेका छन्।
रोमञ्चक र तनावपूर्ण बनेको खेलमा निर्धारित समयमा २-२ गोलको बराबरी र त्यसपछि अतिरिक्त समयमा पनि कुनै गोल निस्कन नसकेपछि खेल पेनाल्टीमा लम्बिदा अर्जेन्टिना ४-३ ले विजयी हुन सफल भयो।