काठमाडौँ - रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक गरेपछि स्पानिस क्लब बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिगको बुधबार भिक्टोरिया प्लेजनलाई ५-१ ले पराजित गरेको छ।
यसै समरमा जर्मन क्लब बायर्न म्युनिख छाडेर क्याटलान पुगेका लेवान्डोस्कीको बार्सिलोनाका लागि यो पहिलो ह्याट्रिक हो। उनले बार्सिलोनाका लागि पछिल्लो ५ खेलमा ८ गोल गरिसकेका छन्। समूह सी अन्तर्गत घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा लेवान्डोस्कीले ३४औं, पहिलो हाफको इन्जुरी र ६७औं मिनेटमा गोल गरेका थिए।
३४ वर्षीय लेवान्डोस्कीले ३ फरक क्लबबका लागि च्याम्पियन्स लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन्। उनले यसअघि जर्मनीमा हुँदा बोरुसिया डर्टमण्ड र बायर्नबाट च्याम्पियन्स लिगमा ह्याट्रिक गरिसकेका छन्।
यस्तै फ्रान्क केस्सीले १३औं र फेरान टोरेसले ७७औं मिनेटमा गोल गरेका थिए। प्लेजनका लागि जान साकारले ४४औं मिनेटमा गोल गरेका थिए।
जितसँगै बार्सिलोनाले ३ अंक जोड्दा प्लेजनले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ।