काठमाडौँ - साबिक विजेता फ्रान्सले अस्ट्रेलियाविरुद्ध खेल्दै विश्वकप सुरुवात गर्दैछ। बालोन डिअर विजेता करिम बेन्जिमा चोटपछि टोलीबाहिर छन्। युइएफए नेसन्स लिगपछि टोलीमा पर्न संघर्ष गरेका बेन्जिमा आइतबार मात्र टोलीबाट बाहिरिएका थिए। यसैगरी, पाउल पोग्बा र एनगोलो कान्टे चोटकै कारण टोलि बाहिर छन्।
स्टार स्ट्राइकर केलियन एम्बाप्पे खेलको मुख्य नायक हुनेछन्। अल वाक्रह मैदानमा सबैको नजर उनीमाथि हुनेछ। २३ वर्षको उमेरमै केलियन विश्वकै उत्कृष्ट स्ट्राइकर चुनिइसकेका छन्। सन् २०१८ मा फ्रान्सले विश्वकप जित्दा एम्बाप्पे उत्कृष्ट युवा खेलाडी घोषित भएका थिए। एम्बाप्पेलाई अग्रपंक्तिमा एन्टोनियो ग्रिजम्यान र ओलिभर जिरुडले सहयोग गर्नेछन्। डिडिएर डेस्चाप्सको टोली आक्रामक रूपमा प्रस्तुत हुँदा ४-२-३-१ रणनीतिका साथ मैदानमा उत्रनेछ।
ग्राहम अर्नोल्डको अस्ट्रेलियासमेत निकै फ्रेस रहेको छ। ह्यारी सोउटर र मार्टिन बोयलीले चोट बोके पनि अन्य खेलाडीले प्रभावशाली प्रदर्शन गर्नेमा अर्नाेल्ड विश्वस्त छन्। अग्रपंक्तिमा जामिक म्याकलेरेन, म्याथु लेकीजस्ता खेलाडी रहेका छन्। मिडफिल्डमा आरोन मोय, ज्याक्सन इर्भिनजस्ता खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास छ।
सन् २०१० यता अस्ट्रेलियाले विश्वकपमा कुनै खेल जित्न सकेको छैन। अस्ट्रेलियाले विश्वकपमा १३ खेलमा मात्र २ मा जित निकालेको छ। फ्रान्स र अस्ट्रेलियाबीच पछिल्लो भेट सन् २०१८ विश्वकपमा भएको थियो। ग्रिजम्यान र पोग्बाले गोल गर्दा फ्रान्सले खेल २-१ ले जितेको थियो।