काठमाडौँ - भारतीय राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान मिताली राजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएकी छिन्। उनले बुधबार ट्वीटरमा एक ट्वीट गर्दै टेस्ट तथा एकदिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरेकी हुन्।
३९ वर्षीया मितालीले लेखेकी छन्, ‘मेरो करिअर समाप्त गर्ने यहि सही समय हो भन्ने मलाई लाग्छ। टोलीको नेतृत्व प्रतिभाशाली युवा खेलाडीहरूले गरेको छ र भारतीय क्रिकेटको भविष्य उज्ज्वल रहेको छ।’
आफ्नो करिअरमा मितालीले १२ टेस्ट, २३२ एकदिवसीय र ८९ टी–२० अन्तर्राष्ट्रियमा खेलमा भारतको प्रतिनिधित्व गरिन्। उनले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल यस वर्षको सुरुमा भएको विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध खेलेकी थिइन्। तर, भारत तीन विकेटले पराजित भएपछि विश्वकपबाट बाहिरिएको थियो।
उक्त खेलमा मितालीले ८४ बलमा ६८ रन बनाएकी थिइन्। मितालीले यस फर्म्याटमा ७ शतकको मद्दतमा ५०.६८ को औसतमा ७ हजार ८०५ रन बनाएकी छिन्। टेस्ट क्रिकेटमा उनले एक शतक र ४ अर्धशतकसहित ६९९ रन जोडेकी छिन्।
‘प्रतिभाशाली युवा खेलाडी’ बनेर टी–२० क्रिकेटमा सन्यास घोषणा गरेकी मितालीले ३७.५२ को औसतमा २ हजार ३६४ रन बनाएकी छिन्। यस अवधिमा उनले टी–२० अन्तर्राष्ट्रिय खेलमा १७ अर्धशतक बनाएकी छिन्।
मिताली महिला अन्तर्राष्ट्रिय क्रिकेटमा कुल १० हजार ८६८ रन बनाएर सर्वाधिक रन बनाउने खेलाडी बनेकी छिन्। एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने कीर्तिमान पनि उनैको नाममा छ। उनी महिला एकदिवसीयमा लगातार ७ अर्धशतक बनाउने पहिलो खेलाडीसमेत हुन्।