लमजुङ - लमजुङ तनहुँ जोड्ने डुम्रे–बेँसीसहर सडकखण्डमा आज बिहानदेखि यातायात सेवा थप्प भएका छन्।
लमजुङस्थित मस्र्याङ्दी नदीमा डुबेर मृत्यु भएको विद्यार्थीको विषयलाई लिएर तनहुँ बाइसजागर बजारका स्थानीयवासीले टायर बालेर सडक अवरुद्ध गरेपछि यातयात ठप्प भएको हो।
जिल्ला प्रशासन कार्यालय लमजुङले लमजुङ–तनहुँको सिमाना पाउँदीबजारदेखि सिउडीबारसम्म निषेधाज्ञा जारी गरेपछि मृतकका आफन्त तथा पक्षधारहरुले विभिन्न माग राख्दै उक्त स्थानमा विरोध प्रदर्शन गरेपछि यातायत ठप्प हुँदा यात्रु मर्कामा परेका छन्। यता लमजुङतर्फ पाउँदीबजारदेखि सिउँदीबारसम्म आज बिहानदेखि अनिश्चितकालीन निषेधाज्ञाका कारण समेत यस खण्डमा यातयात ठप्प हुँदै आएको छ।
जिल्लाको सुन्दरबजार नगरपालिका–९ स्थित मस्र्याङ्दी नदीमा मङ्गलबार पौडी खेल्ने क्रममा फ्युचर स्टार आवासीय मावि कक्षा १० मा अध्यनरत तनहुँ भानु नगरपालिका–९ घर भएका १७ वर्षीय सनिज श्रेष्ठको मृत्यु भएको थियो।
होस्टेलमा बसेका श्रेष्ठको आफन्तलाई जानकारी नै नदिई होस्टेलबाहिर पौडी खेल्न पठाएको, आफन्तलाई थाहा नै नदिई शव लगेको, विद्यालयका संस्थापक बाबुराम पौडेल, मृतक श्रेष्ठसँगै पौडी खेल्न गएका विद्यालयका शिक्षक र अर्का विद्यार्थीमाथि छानबिन हुनुपर्ने भन्दै विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरुले मङ्गलबार सो विद्यालयका दुई स्कुल बस र एउटा भ्यानको सिसा तोडफोड गरेको थियो। उक्त घटनालाई लिएर उग्ररुप लिन थालेसँगै ठूलो भीडलाई सामान्य अवस्थामा ल्याउन प्रहरीले १३ सेल अश्रुुग्यास र एउटा हवाई फायरसमेत गरेको प्रहरी निरीक्षक जनकराज रेग्मीले बताए। उनका अनुसार मृतक विद्यार्थीसँगै गएका शिक्षक सरोज ओलिया र सबिन गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सवारी साधन थप्प भएपछि बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवन लगायतका स्थानमा जाने र सो तर्फबाट लमजुङ आउने कुनै पनि सवारी साधन सञ्चालन हुन पाएका छैनन्। उक्त क्षेत्रमा निषेधाज्ञा जारी र तनहुँको बाइसजागरमा टायर बालेर विरोध प्रदर्शन गरेपछि टाढा टाढा पुग्नुपर्ने यात्रुलाई समस्या भएको छ।