सहायक प्रजिअलाई कोरोना पुष्टि, प्रशासनिक कार्य एक साता बन्द

हुम्ला - जिल्ला प्रशासन कार्यालय हुम्लाले एक हप्तासम्मका लागि प्रशासनिक काम बन्द गरेको छ। सोमबार एक सूचना जारी गर्दै हप्ता दिनका लागि प्रशासनिक सम्पूर्ण काम बन्द गरिएको हो। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईलाई कोरोना सङ्क्रमण देखिएपछि एक हप्ताका लागि सेवा बन्द गरिएको कार्यालयले एक सूचना प्रकाशित गरेर जनाएको छ।

यस अवधिमा नागरिकतालगायत कुनै पनि सेवा प्रदान नगरिने कार्यालयले जनाएको छ। कोरोना सङ्क्रमण फैलिनबाट रोक्नका लागि कार्यालयले सेवा बन्द गर्नुपरेको जनाएको छ। प्रशासनमा सेवाग्राहीको भीडभाड बढी हुनुका साथै सङ्क्रमण थप फैलन सक्ने भएकाले सबैमा सचेत रहन आग्रह गर्दै हप्ता दिनका लागि सेवा बन्द गरिएको हो। 

सहायक प्रजिअ राईमा कोरोना पुष्टि भएपछि उनी होमआइसोलोशनमा बसेका छन्। सहायक प्रजिअको सम्पर्कमा आएका सबैलाई कन्ट्याक्ट ट्रेसिङ गरिने भएको छ। कोरोनाको तेस्रो लहर हुम्लामा पहिलोपटक गत माघ ७ गते जिल्ला अस्पतालका आठ र एक मालपोत कार्यालयका कर्मचारी गरी नौ जनामा कोरोना देखिएको थियो। यसअघिका सङ्क्रमित निको भएर सबै घर फिर्ता भइसकेका छन्। हुम्ला जिल्लामा तेस्रो लहरको कोरोना सङ्क्रमित सङ्ख्या १० पुगेको छ। प्रशासनिक काममा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति कार्यालयले क्षमायाचना गरेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×