काठमाडौँ- घरेलु टोली भारतले वेस्ट इन्डिजविरुद्ध तीन खेलको एकदिवसीय सिरिजमा क्लिन स्विप गरेको छ। भारतले शुक्रबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा ९६ रनको जित निकाल्दै सिरिज ३-० ले आफ्नो पक्षमा पार्याे। भारतले एकदिवसीयमा पहिलो पटक वेस्ट इन्डिजविरुद्ध क्लिप स्विप गरेको हो।
२६६ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ३७.१ ओभरमा सबै विकेट गुमाउँदै १६९ रन मात्र बनाउन सक्यो। वेस्ट इन्डिजका लागि ओडिन स्मिथले सर्वाधिक ३६, कप्तान निकोलस पुरनले ३४ र अल्जारी जोसेफले २९ रनकाे याेगदान दिए। भारतका लागि प्रशिद्ध कृष्णा र मोहम्मद सिराजले तीन-तीन तथा दिपक चाहर र कुलदिप यादवले दुई-दुई विकेट लिए।
यसअघि अहमदाबादस्थित नरेन्द्र माेदी स्टेडियममा टस जितेर ब्याटिङ राेजेकाे भारतले ५० ओभरमा सबै विकेट गुमाउँदै २६५ रन बनाएकाे थियाे।भारतका श्रेयस अय्यरले सर्वाधिक ८० रनकाे याेगदान दिए। ऋषभ पन्तले ५६ र दिपक चाहरले ३८ रन जाेडे।
वेस्ट इन्डिजका लागि जेसन हाेल्डरले ४, अल्जारी जाेसेफ र हाइडेन वाल्सले दुई-दुई तथा फावियन एलन र ओडिन स्मिथले एक-एक विकेट हात पारे।