गोरखा दरबारको दसैं घरमा विधिपूर्वक जमरा राखियो

काठमाडौँ - गोरखाको कालिका मन्दिरमा रहेको दसैं घरमा आज विधिपूर्वक जमरा राखिएको छ। बिहान १० बजेर २३ मिनेटको शुभ साइतमा दसैं घरमा जौको जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए। परम्पराअनुसार बिहान सबेरै मिरमिरे उज्यालोमा देवी भगवतीको सवारी गराएपछि बिहानको शुभ साइतमा कालिका भगवतीको मन्दिरमा दुई पाथी र गोरखनाथ गुफामा एक पाथी जौको जमरा राखिएको उनले बताए।

मूल दरबारको कैलाश कोठाबाट भित्री बाटो हुँदै देवी भगवतीको सवारी गराएर कैलाश कोठामा विधिपूर्वक पूजाआजा गरी जमरा राखिएको  र  त्यसअघि मूल दरबारमा पानी घडी थापना गरी घटस्थापना गरिएको प्रमुख भुसालले जानकारी दिए। गोरखाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दू धर्मावलम्बीहरुले जमरा राख्छन् भन्ने धार्मिक मान्यता रहदै आएको छ।  

बडा दसैंमा लगाइने टीकासँगै जमरा लगाउँदा शुभ हुने विश्वासका कारण यहाँ प्रत्येक वर्ष जमरा राख्ने गरिन्छ। प्रतिपदा शुरु भएसँगै कालिका मन्दिरमा नियमित कालो बोकाको बलिदिने प्रचलन छ। यसैगरी गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पनि जमरा राखिएको मन्दिरका मूल पुजारी इन्सान थापाले जानकारी दिए। 

मनकामना मन्दिरमा मकै र जौको छुट्टाछुट्टै जमरा राखिएको उनले बताए। परम्परा अनुसार विगतदेखि नै छुट्टाछुट्टै जमरा राख्नु पर्ने भएका कारण नित्य पूजा गरी जमरा राखिएको मूल पुजारी थापाले बताए। गणेश र कलस स्थापना गरेर दुवै ठाउँमा जमरा राखिएको उनको भनाइ थियो।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×