खोपका कारण पछिल्लो लहरमा संक्रमण दर घट्दो

काठमाडौँ - बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाले आज र मङ्गलबार ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिइने जनाएको छ।

नगरको स्वास्थ्य शाखा परिसरबाटै खोप सेवा प्रदान हुनेछ। अरु स्थानीय तहले पनि स्थानीय अनुकुलतामा बार तोकेर खोप अभियान सञ्चालन गरिरहेका छन्। स्वास्थ्य कार्यालयको आकडाअनुसार जिल्लाका १८ वर्षमाथिका ८८ प्रतिशत नागरिकले कोभिड–१९ विरुद्ध खोपको पहिलो मात्रा लगाएका छन्।खोपको दुवै मात्रा लगाउनेको सङ्ख्या भने ७८ प्रतिशत छ।

पहिलो मात्रा खोप लगाउने एक लाख ४४ हजार ९७० छन् भने  दुवै मात्रा लगाउनेको सङ्ख्या एक लाख २८ हजार ५५९ रहेको छ । बाह्रदेखि १७ वर्षभित्रका झण्डै २७ हजार बालबालिका र किशोरकिशोरीलाई पनि मोडर्ना खोप दिन सुरु गरिएको छ। बाह्र वर्षमुनिका बालबालिकाका लागि भने अहिलेसम्म खोप आइसकेको छैन। सरकारले आउँदो चैतभित्रमा सबै नेपालीलाई खोपको पहुँचमा ल्याउने लक्ष्य राखेको छ। सबै उमेर समूहलाई लक्ष्य गरी खोप अभियान चलेमा यहाँका दुई लाख ५० हजार ५४४ जनालाई खोप दिनुपर्नेछ।

खोपकै कारण कोरोना महामारीको तेस्रो लहर कम जोखिमपूर्ण देखिएको स्वास्थ्यकर्मी बताउँछन्। धवलागिरि अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलका अनुसार पछिल्लो लहरमा कोभिड–१९ ले थलिएर अस्पताल भर्ना हुनेको संख्या न्यून छ। “खोपले शरीरको प्रतिरोधी क्षमता बढाएका कारण सङ्क्रमण भइहाले पनि स्वास्थ्य जटिलता निम्तिएको छैन”, उनले भने।

हाल जिल्लामा कोभिड–१९ का सक्रिय सङ्क्रमितको संख्या चार सय ८४ छ। पछिल्ला दिनमा दैनिक थपिने सङ्क्रमितको संख्या घट्दो छ । बिहीबार २२ सङ्क्रमित थपिएका छन् भने ८५ जना कोरोनामुक्त भएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×