एक्सेल डेभलपमेन्ट बन्यो पहिलो प्रादेशिक बैंक

झापा - झापाको एक्सेल डेभलपमेन्ट बैंक प्रदेश नं १ को पहिलो प्रादेशिक बैंक बन्ने भएको छ। प्रादेशिक बैंकको मान्यता पाउनका लागि प्रदेशभर बैंकिङ कारोबारको कार्यक्षेत्र हुनुपर्ने प्रावधान छ।

यसअघि झापा, मोरङ, सुनसरी, इलाम र पाँचथर गरी पाँच जिल्लामात्र कार्यक्षेत्र रहेकामा बैंकको १६औँ वार्षिक साधारणसभाले क्षेत्र विस्तार गरी प्रदेशका १४ वटै जिल्ला वित्तीय कार्यक्षेत्र हुने निर्णय गरेको छ। सत्र वर्षअघि रु दुई करोड पूँजीमा स्थापित यो बैंकले आफ्ना एक लाख ७० हजारभन्दा बढी ग्राहकलाई ४४ शाखाबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ। ग्राहकको सेवामा समर्पित हुनुपर्छ भन्ने मान्यतामा उभिएर आफ्ना गतिविधि गरिरहेको एक्सेलमा २६६ कर्मचारी कार्यरत छन्।

बैंकको साधारणसभाले कम्पनीको जारी र चुक्ता पूँजी रु एक अर्ब १५ करोड १७ लाख ९२ हजार १३९ बाट बढाएर रु एक अर्ब २४ करोड ९६ लाख ९४ हजार ४७० पुर्‍याउने निर्णय गरेको छ।

साधारणसभामा बैंक सञ्चालक समितिका अध्यक्ष महेन्द्रकुमार गोयलले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनका अनुसार आव २०७८ चैतसम्ममा बैंकले रु ११ अर्ब २५ करोड ९४ लाख ९७ हजार निक्षेप सङ्कलन र रु १० अर्ब ६९ करोड ८९ लाख ५८ हजार कर्जा लगानी गरेको छ। सोही अवधिसम्मको बैंकको खुद नाफा रु १० करोड ५८ लाख ६५ हजार रहेको जनाइएको छ।

साधारणसभामा कम्पनीका पूर्वअध्यक्ष हेमराज ढकाल, सञ्चालक राजन शर्मा, सञ्चालक पर्शुराम दाहाल, प्रमुख कार्यकारी अधिकृत डा इन्द्रकुमार कट्टेल, पूर्वसञ्चालक सुरेश बंशल, पूर्वसञ्चालक डा रुपक खनाललगायतले मन्तव्य व्यक्त गरेका थिए। साधारणसभाले ८.५० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने र बोनस शेयरको कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्नेसमेत निर्णय गरेको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×