काठमाडौँ । २०७७ साल भदौ २ गते अछामको कैलाश खोलामा आएको बाढीले ठूलो जनधनको क्षति गर्यो।
बाढीका कारण १८ जनाको ज्यान गयो भने सयौँ परिवार पूर्णरुपमा विस्थापित भए। सङ्घ तथा प्रदेशका मन्त्रीलगायत यस क्षेत्रबाट निर्वाचन सङ्घ, प्रदेशका जनप्रतिनिधिहरुको केन्द्र बन्यो रामारोशन गाउँपालिका। सबभन्दा बढी क्षति भएको रामारोशनमा तत्कालीन सुदूरपश्चिमका आर्थिक मामिला तथा योजनामन्त्रीले स्थलगत प्रभावित क्षेत्रको अनुगमनसमेत गरे पनि अहिलेसम्म पीडित परिवारले सरकारबाट एक केजी चामलसमेत नपाएको गुनासो गर्दै आएका छन्।
तत्कालीन गृहमन्त्री, प्रदेशका मुख्यमन्त्री लगायतको टोली हेलिकप्टर नै लिएर बाढी प्रभावित क्षेत्रमा पुगेका थिए। रामारोशन–५ मा सबभन्दा बढी क्षति भएका पीडित र मृतकका परिवारहरुले केही राहत पाए पनि दर्जनौँ स्थानीयवासीले लगाएको धानबालीसहित खेतीयोग्य जमिन बगर बन्दा पनि कुनै राहत पाउन सकेका छैनन्। रामारोशन–१ का वेदराज खनालको कैलाश खोला किनारमा रहेको आधाभन्दा बढी खेत बगर बन्यो। परिवारको खाद्यान्नका लागि मुख्य स्रोत रहेको खेत नै बगर बनेपछि अहिले परिवार पाल्न नै खनाललाई निकै चुनौती छ। “खेतमा २० देखि २२ क्विन्टल धान मात्रै फल्थ्यो। गत वर्षको बाढीले अधिकांश खेत बगर भएपछि अहिले के खाने भन्ने चिन्ता बढ्दै गएको छ,” उनले भने, “अहिलेसम्म त पुरानो अन्न पनि भण्डार थियो, त्यसैले परिवारलाई खानको समस्या भएन । अब भने चिन्ता बढ्दै गएको छ।”
सोही ठाउँका भक्तप्रसाद खनालको ४० क्विन्टल धान फल्ने अधिकांश खेत बगर बन्यो। नदी किनारमा रहेको खेत बगर बनेपछि उनलाई पनि चिन्ता खानैको छ।