गण्डकी। पोखरा थियटरले आगामी माघ ११ देखि १५ गतेसम्म पोखरामा हुने दोश्रो संस्करणको गण्डकी प्रदेश स्तरीय विद्यालय नाटक महोत्सवका लागि १६ वटा नाटक छनोट गरेको छ। नाटकको विषयवस्तु, भाषाशैली, संवाद, प्रस्तुति आदिलाई मुख्य आधार मानेर ती नाटक छनोट गरिएको हो। महोत्सवको लागि प्राप्त २४ मध्ये १६ नाटक पहिलो चरणमा छनोट गरिएको पोखरा थिएटरका अध्यक्ष एवम् महोत्सव संयोजक परिवर्तनले जानकारी दिए। वरिष्ठ कलाकार प्रकाश घिमिरेको संयोजकत्वमा तीन सदस्यीय निर्णायक समिति बनाइएको थियो जसको सदस्यमा निर्देशक तथा कलाकार माओत्से गुरुङ र कलाकार प्रमिला तुलाचन रहेका छन्। छनोटमा परेका नाटकलाई १५ दिनको अभ्यास अवधि उपलव्ध गराइने छ। त्यस पछि छनोट कमिटिले नाटकको अवलोकन गर्ने छ। अवलोकन पश्चात अन्तिम चरणमा छनोट गरिएका १० वटा नाटक गन्धर्व नाटकघरमा मञ्चन गरिने छ। पहिलो चरणमा कास्कीबाट तीन वटा नाटक छनोटमा परेका छन्। जसमा मनो अधिकारीको लेखन तथा सोनिया कार्की खत्रीको निर्देशनमा भानुभक्त आवासीय माध्यमिक विद्यालयको शान्तिको अशान्ति, आर्या मिश्रको लेखन तथा निर्देशनमा गण्डकी बोर्डिङ स्कूलको विडा र सुनिता ज्ञवालीको लेखन तथा निर्देशनमा धर्मस्थली आधारभूत विद्यालयको आरोह अवरोह शिर्षकको नाटक रहेका छन्। त्यस्तै तनहुँबाट दुई, लमजुङबाट तीन, गोरखाबाट एक, नवलपुर चार, म्याग्दीबाट एक, वागलुङ र पर्वतका एक/एक रहेका छन्। विद्यालयमा रङ्गमञ्च, अर्थपूर्ण बाल सहभागिताको आधार भन्ने मूल मन्त्रका साथ आयोजना गरिने महोत्सवमा गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रमुख सहकार्य, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाडौँ र पोखरा प्रज्ञा प्रतिष्ठानको सहकार्यमा कार्यक्रमको आयोजना गरिने बताइएको छ।