मलेसियामा हुने एसीसी ट्वान्टी-२० महिला क्रिकेट टिम छनोट

काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा हुने एसीसी ट्वान्टी-२० महिला च्याम्पियनसिपका लागि रुबिना क्षेत्रीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ। च्याम्पियनसिप शुक्रबार मलेसियामा सुरु हुँदैछ।

नेपालसहित हङकङ, कुवेत, भुटान र बहराइन समूह ‘बी’ मा परेका छन्। समूह ‘ए’ मा यूएई, आयोजक मलेसिया, ओमान, कतार र सिंगापुर छन्। दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनल स्थान बनाउने छन्।

फाइनल पुग्ने दुई टोलीले एसिया कप खेल्न पाउनेछन्। नेपालले असार ३ मा पहिलो खेल भुटानविरुद्ध खेल्नेछ। त्यसपछि नेपालले असार ४, ६ र ७ मा क्रमशः कुवेत, बहराइन र हङकङविरुद्ध समूह चरणमा प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।

युवा स्पिनर मनिषा उपाध्यायले पहिलोपल्ट टोलीमा परेकी छिन्। युगान्डासँग गत महिना घरेलु मैदानमा भएको ट्वान्टी-२० शृंखला खेलेको टोलीबाट हिरन्मयी राय र सरिता मगर अन्तिम टोलीमा परेका छैनन्। १५ वर्षीया हिरन्मयीको ट्राभल डकुमेन्ट बन्न नसक्दा टोलीमा अटाउन सकिनन्। उनको स्थानमा गण्डकी प्रदेशकी मनीषाले मौका पाएकी छिन्।

अलराउन्डर ममता चौधरीले पुनरागमन गर्दा सरिता टोली बाहिर परेकी हुन्। अन्य खेलाडीमा इन्दु बर्मा (उपकप्तान), सीता रानामगर, ज्योति पाण्डे, कविता कुँवर, अस्मिना कर्माचार्य, कविता जोशी, डली भट्ट, विन्दु रावल, संगीता राई, अप्सरी बेगम, काजोल श्रेष्ठ (विकेटकिपर) र सवनम राई छन्। टोलीलाई मंगलबार बिदाइ गरिने कार्यक्रम रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×