भारत। बलिउड अभिनेता अक्षय कुमारको आउँदो चलचित्र ‘गोरखा’का लागि नेपाली कलाकारहरु मागीएको छ। आनन्द एल राय र हिमांशु शर्माले निर्माण गर्न लागेको चलचित्रको लागि सूचना जारी गर्दै नेपालबाट महिला तथा पुरुष कलाकारको अडिसनको माग गरिएको हो।
इच्छुक कलाकारले फेब्रुअरी ५ सम्ममा आवेदन दिन सक्नेछन्। कलाकारहरुलाई आफ्नो परिचय सहितको भिडियो पठाउन आग्रह गरिएको छ।
भारतीय सेनाअन्तर्गतको गोरखा रेजिमेन्ट (पाँचौ बटालियन)का युद्ध सैनिक इयान कार्डोजोको जीवनमा आधारित चलचित्रमा अक्षय मुख्य भूमिकामा देखिनेछन्।
उनले युद्धको क्रममा घाइते भएर पनि सन् १९६२ र १९६५ को युद्धमा गोर्खा बटालियनको नेतृत्व गरे। साथै सन् १९७१ को भारत-पाक युद्धमा पनि उनले सहभागिता जनाए।