नेपाली प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम भिडन्तमा जनकपुर बोल्ट्स र कर्णाली याक्स आमनेसामने छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुरले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।
पहिले ब्याटिङको मौका पाएको कर्णाली र जनकपुर दुवै टोली यसअघि नै प्रतियोगिताको लिग चरणबाट बाहिरिइसकेका छन्। ६ मध्ये ५ खेलमा पराजित दुवै टोली प्रतिष्ठाका लागि मैदानमा उत्रिए पनि आज हार बेहोर्ने टोली अंक तालिकाको अन्तिम स्थानमा रहनेछ।
आजको खेलमा दुवै टोलीले नयाँ चेहरा उतारेका छन्। कर्णालीले दिपेन्द्र रावतसहित इमरान शेखलाई पहिलोपटक खेलाउने निर्णय गरेको छ। इमरान आजै एनपिएलमा डेब्यू गर्न लागेका हुन्।
जनकपुरतर्फबाट पनि दुई नयाँ खेलाडीले पहिलो खेल खेल्न पाएका छन्। तुलबहादुर थापा मगर र ट्यालेन्ट हन्टमार्फत छनोट भएका पप्पु यादवले आजको खेलबाट आफ्नो यात्रा सुरुवात गर्दैछन्।
कर्णाली याक्सको टोली:
सोमपाल कामी (कप्तान), दीपेन्द्र रावत, पवन सर्राफ, इमरान शेख, नन्दन यादव, अर्जुन घर्ती (विकेटकिपर), गुल्सन झा, मार्क वाट, विलियन बोसिस्टो, नाजिबुल्लाह जाद्रान, प्रियांक पाञ्चाल।
जनकपुर बोल्ट्सको टोली:
आसिफ शेख (विकेटकिपर), अनिलकुमार साह, ललित राजवंशी, मयन यादव, तुलबहादुर थापा मगर, आदित्य महरा, माज सदाकत, यान निकोल लोफ्टी इटन (कप्तान), सञ्जय कृष्णमूर्ति, संगिथ कोरी, पप्पु यादव।
लिग चरणको अन्तिम खेल भएकाले दुवै टोली मैदानमा राम्रो प्रदर्शन गर्दै सकारात्मक निष्कर्ष निकाल्न उत्साहित देखिएका छन्।