राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतमा तोकिएको सुनुवाइ स्थगित भएको छ। युवराज पौडेल (सफल)ले लामिछानेविरुद्ध मुद्दा चलाउनुपर्ने माग गर्दै दायर गरेको रिटमा आज सुनुवाइ हुन सकेन।
पौडेलले महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय कानुनविपरीत रहेको जिकिर गर्दै दुई वर्षअघि रिट दायर गरेका थिए। यसअघि २०७९ चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णय गरेको थियो।
रिटमा अमेरिकी नागरिकता हुँदाहुँदै नेपाली नागरिकको रूपमा राहदानी लिएको विषय राहदानी ऐनविपरीत भएको दाबी गरिएको छ। यस मुद्दामा अब अर्को पेसी कहिले तोकिन्छ भन्ने चासो बढेको छ।