काठमाडाैँ - बंगलादेशले टेस्ट क्रिकेटमा नचाहेको कीर्तिमान बनाएको छ। वेस्ट इन्डिजविरुद्धको पहिलो टेष्टको पहिलो दिन नै उनका ६ ब्याट्सम्यान पहिलो इनिङ्समा शून्य रनमा शिकार भएका छन्।
पछिल्लो एक महिनामा बंगलादेशका ब्याट्समानले यस्तो खराब प्रदर्श गरेको यो दोस्रो पटक हो। यसअघि मे २४ मा मिरपुर टेस्टमा श्रीलंकाका बलरहरूले बंगलादेशका ६ ब्याट्सम्यानलाई शून्यमा प्याभिलियन फर्काएका थिए। तर, त्यतिबेला टोलीले ३ सय ६५ रन बनाएको थियो। उक्त खेलमा मुस्फिकुर रहिमले १७५ र लिट्टन दासले १४१ रन बनाए भने यस खेलमा सकिब अल हसन (५१ रन) मात्रै अर्धशतक बनाउन सकेका थिए।
यसपटक टोली मात्र १०३ रनमा सीमित भयो। ४५ रनमा ६ विकेट खसेपछि कप्तान शकिब अल हसनले इनिङ्सलाई सम्हालेका थिए। उनले ६७ बलमा ५१ रनको उत्कृष्ट पारी खेले पनि बाँकी ब्याट्सम्यानको साथ नपाएपछि टोली ३२.५ ओभरमा १०३ रनमा सीमित भयो। वेस्ट इन्डिजका लागि जेडेन सिल्स र अल्जारी जोसेफले ३/३ विकेट लिएका थिए। केमार रोच र काइल मेयर्सले पनि २/२ विकेट लिएका थिए।