काठमाडौँ - राजधानीको टेकुस्थित कौसी थिएटरमा नाटक ‘ऐया ! माया’ मञ्चन हुने भएको छ। सुदाम सिकेको निर्देशनमा बनेको नाटक यही असार ७ गतेदेखि मञ्चन हुने भएको हो।
सिकेको निर्देशनमा बनेको यो चौँथो नाटक हो। यसअघि उनको निर्देशनमा ‘च्यातिएको पर्दा’, ‘आन्दोलन’ र ‘पाँच’ जस्ता नाटकहरू मञ्चन भइसकेका छन्। शुरूका दुई नाटक यथार्थपरक शैलीमा बनेका थिए भने तीन वर्षअघि मञ्चन भएको नाटक पाँच भने शारीरिक प्रयोगात्मक नाटक हो। निर्देशक सुदामद्वारा निर्देशित ‘पाँच’ संवादविहीन पहिलो नेपाली नाटक हो।
नाटकमा नौलो प्रयोग गर्न रुचाउने निर्देशक सुदामले यसपटक ‘ऐया ! माया’ मा पनि शरीरसँगै आवाज र संगीतमा समेत नयाँ प्रयोग गरिएको बताएका छन्। यसअघि, शरीरमा मात्रै प्रयोग गरिएको र यसपटक अभिव्यक्तिका बलिया माध्यम शरीरसहित, शब्द र संगीतको संयोजनमा काम गर्ने इच्छाले नाटक ‘ऐया ! माया’ तयार भएको निर्देशकले बताएका छन्।
कुनै समस्याको समाधान र समाज रूपान्तरण होस् भनेर यो नाटक गर्न लागिएको होइन। अभिव्यक्त गर्न मन लागेको कुरा यसरी भन्न खोजिएको हो। उनले भनेका छन्, हामी सबै सधैँ हतारमा हुन्छौँ। सधैँ केही न केही पाउनका लागि दौडिरहेका हुन्छौँ। हरेक दिन ठूलाठूला घटना भइरहेका हुन्छन्। जसलाई अर्का घटनाले छायाँमा पारिरहेको हुन्छ। यस नाटकमार्फत् हामीले बिर्सिरहेका कुराहरू सम्झाउन मात्र खोजिएको छ।
कथा घेराको प्रस्तुति रहेको नाटकमा अकाश नेपाली, आयान खड्का, पवित्र राई, सरिता कठायत, शिशिर शिवाकोटी र मुक्तिको अभिनय छ। संगीतमा शिवराज जोशी र शर्मिला गुरुङ छन् भने प्रकाश परिचालनमा क्षितिज पराजुली छन्।
असार ७ गतेदेखि मञ्चन शुरू हुने नाटक सोमबार र मंगलबार बाहेक हरेक दिन साँझ साढे ५ बजे असार ३२ सम्म चल्नेछ। साथै, नाटकको अतिरिक्त शो शनिबार दिउँसो २ बजे मञ्चन हुनेछ।