इन्टरको उपाधि होडमा धक्का

काठमाडौं - इटालियन सिरी ‘ए’ फुटबलको उपाधि होडमा रहेको इन्टर मिलान बुधबार बोलोग्नासँग २–१ ले पराजित भएको छ। हारसँगै इन्टरको उपाधि होडमा गम्भीर धक्का लागेको छ।

नियमित गोलकिपर सामिर हान्डानोभिचको ढाडमा समस्या भएपछि इन्टरले वैकल्पिक गोलकिपर युटन आन्द्रे राडुलाई खेलाएको थियो। बोलोग्नाविरुद्धको महत्त्वपूर्ण खेलमा उनी हारको कारणमध्ये एक बने।

बोलोग्नाको घरेलु मैदानमा इन्टरले इभान पेरिसिचको गोलबाट तेस्रो मिनेटमै अग्रता लिएको थियो। २९औँ मिनेटमा मार्को अर्नाटोभिचले बराबरी गोल फर्काए।

खेल सकिन नौ मिनेट बाँकी हुँदा इन्टरले गोलकिपरको गम्भीर गल्तीका कारण गोल खायो। पेरिसिचले बायाँ भागबाट दिएको थ्रो बल गोलकिपर आन्द्रे राडुले क्लियर गर्न लागेका थिए। तर, उनले राम्रोसँग क्लियर गर्न नसक्दा बल आफ्नै पोस्टतर्फ गएको थियो। त्यही बललाई बोलोग्नाका वैकल्पिक खेलाडी निकोला सानसोनले खाली पोस्टमा छिराएका थिए।

 लिगमा चार खेल बाँकी हुँदा इन्टरले ७२ अंक जोडेको छ । त्यो सहरी प्रतिद्वन्द्वी एसी मिलानभन्दा दुई अंकले पछाडि हो। मिलानले सोमबार राति लाजियोलाई २–१ ले हराउँदै शीर्ष स्थानमा उक्लिएको थियो। पराजित बोलोग्ना ४२ अंकका साथ १३औँ स्थानमा छ।

मिलानले अब फियोरेन्टिना, हेलास भेरोना, एटलान्टा र सासउलोविरुद्ध खेल्न बाँकी छ। इन्टरले भने अब युडिनेस, इम्पोली, काग्लिएरी र साम्पडोरियाविरुद्ध खेल्न बाँकी छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×