काठमाडौँ - ताप्लेजुङको हिमाली क्षेत्रका बस्तीमा ‘आलु रोपाइँ’को चटारो लागेको छ। हिमाली बस्तीका किसान हिमपात हुन रोकिएसँगै आलु रोपाइँमा लागेको हो।
समुंद्र सतहदेखि तीन हजार मिटरदेखि चार हजार २०० मिटरसम्मका उच्चाइमा पर्ने क्षेत्रका किसान अहिले आलु रोपाइँमा व्यस्त भएको फक्ताङलुङ गाउँपालिका–६ घुन्साका किसान केल्साङ शेर्पाले जानकारी दिए। उच्च हिमाली क्षेत्र भएकाले आलुबाहेक अन्य बाली हुँदैन। जिल्लाको हिमाली बस्ती ओलाङचुङगोला चार हजार २०० मिटर उच्चाइमा अवस्थित याङमा, फले, क्याप्लालगायत क्षेत्रमा बसोबास गर्ने किसानको आलु मुख्य खेती हो। एक घर परिवारले २० मुरी (२० पाथीको एक मुरी) अर्थात् एक हजार ६०० केजीसम्म आलुको बीउ रोप्ने गरेको शेर्पाले बताए। दश मुरी आलु रोपाइँ गर्दा ९० मुरीसम्म आलु उत्पादन हुने स्थानीय बताउँछन्।
हिमाली क्षेत्रमा हिमपात हुन रोकिएपछि आलु रोपाइँको चटारो लाग्ने गर्दछ। चैत महिनामा रोपेको आलु असोज महिनामा खन्ने गर्दछ। घुन्सा र याङमा क्षेत्र आलु बीउको भण्डारणको रुपमा लिन सकिन्छ। यस क्षेत्रमा उत्पादन भएको आलु मङ्सिर र पुस महिनामा आलु व्यापारका लागि घुन्सा क्षेत्रमा उत्पादन भएको आलु याकमार्फ ढुवानी गरेर एक दिन लगाएर फले क्षेत्रमा भण्डारण गर्ने गर्दछ। उता याङमा क्षेत्रमा उत्पादन भएको आलु दुई दिन लगाएर चेने भन्ने ठाउँमा भण्डारण गर्ने गर्दछ। चेनेमा फक्ताङलुङ गाउँपालिकाले आलु भण्डारणका लागि संरचनासमेत निर्माण गरेको छ।
आलुको बीउ लिनका लागि फक्ताङलुङ गाउँपालिका तल्लो क्षेत्रका किसान, फुङ्लिङ नगरपालिकालगायतका क्षेत्रका किसान तीन-चार दिन पैदलयात्रा गरेर आलु भण्डारण क्षेत्रसम्म पुग्ने गर्दछ। तल्लो क्षेत्रका किसानले कोदो, मकैजस्ता अन्न लिएर आलु बीउ साट्न आलु भण्डारण क्षेत्रसम्म पुग्ने गर्दछ। तल्लो क्षेत्रका किसान आलु भण्डारण क्षेत्रमा पुगेर कोदो र आलु साटासाट गर्ने गर्दछ। हिमाली क्षेत्रमा आलुबाहेक अन्य खेतीपाती हुँदैन। यसैले आलु र कोदो, मकैजस्ता अन्नसँग आलु साटासाट गरेको हो।
आलु भण्डारणको रुपमा रहेको याङमा, घुन्सा, फले क्षेत्रमा गएको दुई वर्षदेखि आलु उत्पादनान ह्रास आएको घुन्साका किसान टासी तेन्जिङले बताए। विगतका वर्षहरुमा आलुको हव बनेको याङमा र घुन्सा क्षेत्र दुई वर्षयता आलु उत्पादनमा कमी आउन थालेको छ। आलु उत्पादनमा ह्रास आउन थालेसँगै आलुको बीउ जोगाउन नै मुस्किल हुँदै आएको स्थानीयको भनाइ रहेको छ।