काठमाडौँ- एसी मिलान कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ।आज बिहान सम्पन्न दोस्रो क्वाटरफाइनलमा लाजियोलाई ४-० गोल अन्तरले हराउँदै मिलान सेमिफाइनलमा प्रवेश गरेको हो। घरेलु मैदान सान सिरोमा भएको खेलमा मिलानको जितमा ओलिभर जिरुडले दुई तथा राफेल लियो र फ्रान्क केस्सीले एक/एक गोल गरे।
खेलको २४ औं मिनेटमा लियोको गोलमार्फत मिलानले अग्रता लिएको थियो। जिरुडले ४१ औं मिनेट तथा पहिलो हाफको थप गरिएको समयमा गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए। ७९ औं मिनेटमा केस्सीले गोल गरेपछि मिलानले ४-० को फराकिलो जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्यो।