काठमाडौँ - अमेरिकामा बसोबास गर्दै नेपाली भाषा साहित्यमा सक्रिय रहेकी स्रष्टा मञ्जु निरौलाको पछिल्लो कृति ‘यथार्थमा अमेरिका–भाग २’ सार्वजनिक भएको छ। निरौलाको उक्त कृतिमाथि हालै एक परिचर्चा कार्यक्रम सम्पन्न गरिएको छ।
गुञ्जन नारी साहित्यकी अध्यक्ष जलेश्वरी श्रेष्ठले अमेरिकामा बस्दाका अनगिन्ती अनुभवहरू समेटिएको यो कृति पठनीय र सूचनामूलक भएको बताएकी छिन्।
परिचर्चा कार्यक्रममा स्रष्टा निरौलाले यस कृतिमाथि खासै चर्चा गर्न नसकिएको बताउँदै गुञ्जनको सक्रियतामा यस किसिमको अन्तरक्रियात्मक कार्यक्रममा सहभागिता जनाउन पाउँदा आफू हर्षित भएको बताएकी छिन्। उनले कृतिमा अल्जाइमर रोगबाट पीडित जेष्ठ नागरिकहरूका पीडा प्रस्तुत गरेको बताइन्।
अन्तरक्रियात्मक प्रस्तुतिमा स्रष्टाहरू भागिरथी श्रेष्ठ, इल्या भट्टराई, सुष्मिता नेपाल, नारायण तिवारी, डा. रजनी ढकाल, मणिराज सिंह, इन्द्रकुमार श्रेष्ठ सरित, सन्या पहाडीलगायतले आफ्नो धारणा राखेका थिए।