काठमाडौँ - जुबिन नौटियाल यतिबेला बलिउड पाश्र्वगायनको एक अग्लो नाम हो। गत महिना ‘रात लम्बियाँ’ गीतबाट उनले प्रतिष्ठित आइफा अवार्डको ट्रफी उचाले।
सन् २०१४ को फिल्म ‘सोनाली केबल’ फिल्मको गीत ‘एक मुलाकात’बाट बलिउड गायनमा डेब्यु गरेका नौटियालको चर्चा पछिल्लो समय चुलिएको छ। ‘कबीर सिंह’को हिट ट्रयाक ‘तुझे कित्ना चाहने लगे हम’, मर्जाबन फिल्मका ‘किन्ना सोना’ र ‘तुम ही आना’ले त उनलाई बलिउड चार्टबस्टरमा स्थापित नै गरे।
बलिउडका यी चर्चित पाश्र्वगायक यतिबेला भने नेपाली फिल्मसँग जोडिएका छन्। नेपाली फिल्म ‘प्रेमगीत ३’को हिन्दी संस्करणका लागि नौटियालको एक रोमान्टिक गीत रेकर्ड भएको छ। शुक्रबार मुम्बईस्थित उनकै स्टुडियोमा ‘कोही ना कोही नाता हे…’ गीतमा नौटियालले स्वर दिएका छन्।
अमर मोहीद्वारा संगीतबद्ध उक्त गीतलाई फिल्मको हिन्दी संस्करणका निर्माता सुवास कालेले लेखेका हुन्। तर, हिन्दी ‘प्रेमगीत ३’मा गीत गाउनको सूचीमा अंकित तिवारी, पलक मुचला, राहत फतेअली खान र देव नेगी यसअघि नै जोडिइसकेका छन्।
हिन्दी संस्करणमा ४ गीत समावेश भएको निर्देशक तथा निर्माता सन्तोष सेनले जनाएका छन्। ‘टिजर हेरेर कन्भिन्स भएपछि मात्र उहाँ गाउनका लागि तयार हुनुभयो’ मुम्बईबाट निर्देशक सेनले भने, ‘हामीले बल्ल बल्ल गाउन लगायौं।’ यो गीत सोमबार रिलिज तयारी छ।
प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्म असोज ७ गते नेपाल र भारतसहित विश्वभर रिलिजको तयारीमा रहेको छ।