काठमाडौँ - सिमसार क्षेत्र सङ्कटमा पर्दै गएपछि वर्षेनी जलचराको सङ्ख्या घट्दै गएको छ। पोखराकै जलचरा पर्याप्त पाइने फेवातालमा पनि वर्षेनी जलचराको सङ्ख्या घट्दो छ।
फेवातालको सिमसार क्षेत्रको जग्गाको झण्डै ९५ प्रतिशत व्यक्तिका नाममा भएका कारण पनि सिमसार लोप हुने अवस्थामा पुगिरहेको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरे बताउँछन्। पोखरामा हालै गरिएको जलपक्षी गणनाबाट पनि सिमसार क्षेत्र जोखिममा पर्दै जाँदा चराको बासस्थान नै परिवर्तन हुन थालेको पाइएको हो। नेपालमा सन् १९८७ देखि बर्सेनि नियमित रूपमा जलपक्षी गणना गरिँदै आएको छ। सन् २००४ देखि कास्कीको पोखरा उपत्यकामा नियमित आधिकारिक गणना र अभिलेख राखिएको घिमिरेले जानकारी दिए।
प्रत्येक वर्ष ग्रेगोरियन पात्रोको जनवरी पहिलो हप्तादेखि तेस्रो हप्तामा जलचरा गणना गरिन्छ। चराको बासस्थान सिमसार क्षेत्रका संरक्षणमा स्थानीय चासो पुगोस् भन्ने उद्देश्यका साथ स्थानीयवासीका साथै जनप्रतिनिधिसमेतलाई आमन्त्रण गरिएको थियो। यस वर्ष पुस १७ – माघ ५ (जनवरी १–१९) सम्म विश्वभरका साथै नेपालका ६० भन्दा बढी तालतलैया र नदीका भागमा जलचराको गणना गरिएको गणनाका क्षेत्रीय प्रतिनिधि घिमिरेले जानकारी दिए।दक्षिण एसियामै पहिलो पटक वन्यजन्तु पर्यटन भित्र्याउने पायोनियर कम्पनी टाइगर टप्सको चेन होटल टाइगर माउण्टेन पोखरा लजका प्रबन्धक मार्कस कटनका अगुवाइमा सन् २००४ देखि पोखरा उपत्यकामा जलचरा गणना शुरु गरिएको थियो। पछिल्ला वर्षमा केही चरा पथप्रदर्शक, नेपाल पक्षी संरक्षण सङ्घ पोखरा र पोखरा पक्षी समाजका संलग्नतामा जलचरा गणना हुँदैछ।
पोखरा र आसपासका विजयपुर खोला, कमलपोखरी, गुँदे, खास्टे, न्युरेनी, दिपाङ, मैदी, वेगनास र रुपा तालमा र दोस्रो दिन फेवातालमा जलपक्षी गणना गरिएको थिय। हालसम्म गरिएको गणनामा पोखरा उपत्यकामा ४६ प्रजातिका जलचरा अभिलेख गरिए पनि वर्षैभरि गरिने अध्ययनमा १०२ प्रजातिका देखिएको छ। पछिल्ला वर्षमा ताल संरक्षणका नाममा जथाभाबी बाँध निर्माण गर्ने क्रमले पनि सिमसार क्षेत्र सङ्कटमा परिरहेको सरोकार पक्ष बताउँछ। लेखनाथको मैदी तालमा बाँध तयार भएसँगै धान खेत मात्रै बाँकी रहेको र सिमसार क्षेत्र प्रभावित भएको देखिएको छ। रुपातालमा पनि बाँध बन्ने क्रममा रहेको र त्यसले सिमसार क्षेत्र पुर्ने देखिएको घिमिरेले बताए।
पछिल्ला वर्ष चराको संरक्षणका लागि विभिन्न पहल भएका छन्। संस्थागत रूपमा सरकारले नै लाटोकोसेरो, गिद्ध, डाँफे आदि चराको संरक्षणका लागि गुरुयोजना तयार गरी काम अघि बढाइएको छ।