काठमाडौँ - अबको सहिद स्मारक लिग ‘ए’ डिभिजन ‘डबल राउन्ड रोबिन’ को आधारमा हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘ए’ डिभिजनबीच मंगलबार बसेको बैठकले यो निर्णय गरेको हो।
बैठकले लिग पुस २६ देखि जेठ २० सम्म आयोजना गर्ने निर्णय पनि गरेको छ। ५ महिना चल्ने लिगका केही खेल काठमाडौं उपत्यका बाहिर पनि आयोजना हुनेछ। पोखरा र विराटनगरमा लिगका खेल हुने सम्भावना रहेको छ।
बैठकले लिगको व्यवस्थित आयोजनाका लागि कार्यशाल गोष्ठी आयोजना गर्ने निर्णय गरेको छ। सहिद स्मारक लिग ‘ए’ डिभिजनमा कुल १४ टिम रहेका छन्। ‘डबल राउन्ड रोबिन’ को आधारमा लिग हुँदा क्ल १ सय ८२ खेल हुनेछन्।
नेपाली घरेलु फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता ‘डबल राउन्ड रोबिन’ मा हुन लागेको भने यो पहिलो पल्ट होइन्। यसअघि ०६२, ०६३ र ०६६-०६७ मा ३ पल्ट ‘डबल राउन्ड रोबिन’ को आधारमा ‘ए’ डिभिजन भएको थियो।