काठमाडौँ - टी-२० विश्वकप क्रिकेटको ट्रफी पहिलो पटक नेपाल ल्याइने भएको छ। अक्टोबर १६ बाट अष्ट्रेलियामा सुरु हुने टी-२० विश्वकपको ट्रफी टुरको क्रममा काठमाडौं ल्याइने भएको हो।
तालिका अनुसार अगस्ट ३० र ३१ तारिखमा ट्रफी काठमाडौँ हुनेछ। नेपाल हुँदै ट्रफी सिंगापुर लगिने तालिका रहेको छ। ट्रफी टुर जुलाई ८ बाट सुरु भएर अक्टुबर १६ मा अन्त्य हुनेछ।
विश्वकप सुरु हुनुभन्दा १०० दिन अघिबाट ट्रफीलाई विश्वको विभिन्न शहरहरुमा पुर्याउने यात्रा सुरु भएको हो। ट्रफी नेपालको कुन कुन ठाउँमा पुर्याइने भन्ने बारे खुलाइएको छैन। ट्रफी टुर विभिन्न १३ देशका ३५ शहरमा गरिनेछ।
नेपालसहित, फिजी, फिनल्यान्ड, जर्मनी, घाना, इन्डोनेसिया, जापान, नामिबिया, सिंगापुर र भानुआतुमा पहिलो पटक टी-२० विश्वकपको ट्रफी पुग्न लागेको हो। यस अघि २०१९ मा भएको एकदिवसीय विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइएको थियो।