यस्तो छ रवि लामिछाने र बालेन शाहबीच भएको बृहत् एकता सम्बन्धी ७ बुँदे सहमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहबीच बृहत् राजनीतिक एकतासम्बन्धी ७ बुँदे सहमति भएको छ।

सहमितिअनुसार आगामी प्रतिनिधिसभा निर्वाचनपछि बालेन शाह संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार हुनेछन् भने रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीकै केन्द्रीय सभापति रहनेछन्।

हस्ताक्षर कार्यक्रममा रास्वपातर्फ स्वर्णिम वाग्ले, डीपी अर्याल, शिशिर खनाल, असिम शाह तथा बालेन शाह पक्षबाट कुमार बेन, केपी खनाल, निश्चल बस्नेत, भूपदेव शाह, सुदीप ढकाललगायतको उपस्थिति थियो।

रास्वपा र बालेन्द्र शाहबीच भएको यो सहमति सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा आधारित बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र सुशासन कायम गर्दै आम नागरिकका आकांक्षा पूरा गर्ने लक्ष्यका साथ गरिएको जनाइएको छ। साथै, २०८२ साल भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनसहित विभिन्न जनआन्दोलनका शहीद तथा घाइतेहरूको बलिदानलाई प्रेरणाका रूपमा लिइएको उल्लेख गरिएको छ।

७ बुँदे सहमतिको मुख्य सार

  1. भ्रष्टाचार र कुशासनविरुद्ध भएका युवाआन्दोलनका घाइते तथा शहीद परिवारका मागको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता।

  2. नीतिगत, संस्थागत र संरचनात्मक सुधारमार्फत आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने लक्ष्य।

  3. बृहत् एकतापछि दलको नाम “राष्ट्रिय स्वतन्त्र पार्टी”, झण्डा निलो पृष्ठभूमिमा सेतो घेराभित्र निलो घण्टी, चुनाव चिन्ह घण्टी रहने।

  4. पार्टी सभापति रवि लामिछाने र निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्री उम्मेदवार बालेन्द्र शाह रहने।

  5. योग्यता, समावेशिता र सार्वजनिक छविका आधारमा युवा अभियन्ता तथा विज्ञलाई पार्टी संरचनामा समायोजन।

  6. सहमतिअनुसार पार्टीसम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने।

  7. घण्टी चुनाव चिन्हमा गोलबद्ध भई सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दामा अन्य परिवर्तनकामी शक्तिलाई सहकार्यका लागि आह्वान।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×