काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माणमा नेकपा माओवादी केन्द्रको सबैभन्दा ठुलो लगानी भएको बताएका छन् ।
ओवादी अध्यक्षसमेत रहेका प्रचण्डले प्रतिनिधिसभा बैठकमा शुक्रबार विश्वासको मत लिनेक्रममा संविधान निर्माणमा माओवादीको ठूलो लगानी रहेको भन्दै यसलाई कमजोर नबनाउने र बनाउन पनि नदिने स्पष्ट पारेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका लागि संविधानले प्रधानमन्त्रीलाई एक महिनाको समय दिएको उल्लेख गर्दै आउने दिनमा पनि संविधानको रक्षाका लागि आफू नेतृत्वको पार्टी निरन्तर लागिपर्ने बताए ।
नेपाली कांग्रेस र नेकपा एमालेप्रति आक्रोशित रुपमा प्रस्तुत भएका प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित गर्दै आफूलाई संसद नै विघटन गर्ने बानी परेकाहरुले आफूलाई नैतिकताको पाठ सिकाउने प्रयास गरेको आरोप लगाए ।
उनले भने, ‘आफू अल्पमतमा परेपछि संसद नै विघटन गर्ने बानी परेकाहरुलाई र त्यसको समर्थन गरेका साथीहरुले समेत मलाई नैतिकताको पाठ सिकाउने प्रयास गरियो । ति साथीहरुलाई म यत्ति भन्न चाहन्छु, यो संविधानमा नेकपा माओवादी केन्द्रको सबैभन्दा धेरै ठूलो लगानी छ । त्यसैले यसलाई माओवादीले कमजोर बनाउँदैन र बनाउन पनि दिँदैन’
उनले उत्पीडित वर्ग, क्षेत्र, लिङ्ग, समुदायको दशक लामो विद्रोह र त्यसपछिका आन्दोलनहरूको जगमा बनेको यो संविधानलाई मध्यरातमा झम्टीझम्टी च्यात्न खोज्दा पनि सडकमा पलेटी कसेर जनताको साथ लिएर बचाइएको भन्दै आउने दिनमा पनि त्यसरी नै बचाइने बताए ।