काठमाडौँ - धवलागिरि गाउँपालिका–१ गुर्जामा जुवातास बन्द गरिएपछि महिलालाई राहत मिलेको छ।
जुवातास खेलेर समय बिताउने युवा र प्रौढ पुरुष घरायसी, आयआर्जन र विकास आयोजनामा संलग्न हुन थालेका छन्। स्थानीय सीता छन्त्याल जुवातास बन्द भएपछि महिलालाई राहत मिलेको बताउँछिन्। “जुवातास र मदिरामा भुल्ने पुरुष घरायसी र आम्दानी हुने काममा संलग्न हुन थालेपछि घरमा झगडा हुने क्रम घटेको छ”, उनले भने, “श्रीमान् श्रीमतीसँगसँगै काम गरेर आम्दानी गर्न थालेका छन्। सामाजिक सद्भाव र शान्ति कायममा मद्दत पुगेको छ।” समाज सुधार र परिवर्तनका लागि वडा कार्यालय, आमा समूह र युवा क्लबको पहलमा गुर्जामा जुवातास बन्द र मदिरा सेवनका लागि समय तोकिएको थियो।
दुई सय ६५ परिवार बस्दै आएको गुर्जामा बिहान ५ देखि साँझ ६ बजेसम्म मदिरा सेवन गर्न रोक लगाइएको छ। विसं २०७४ देखि जुवातास बन्द गरिएको थियो। गाउँमा दैनिक आठ-दशवटा खाल बनाएर पुरुष तास खेलेर समय बिताउँदा सामाजिक समस्या देखिएपछि जुवातास बन्द गर्ने निर्णय लिइएको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए। “जुवातास बन्द गराउँदा केही व्यक्ति आक्रमण गर्न आए”, उनले भने, “अहिले धेरैले बुझेका छन्। समाजिक सुधारमा सहयोग पुगेको छ। घरायसी झगडा र विवाद घटेको छ।” जुवातासमा भुल्नेहरू अहिले विकास आयोजनामा मजदुरी, खेती किसानी, जडीबुटी सङ्कलन र घरायसी काममा महिलालाई सघाउन थालेका छन्।
महिलालाई घरायसी कामको बोझ घटेको पुर्माकुमारी विकले बताए। आम्दानी हुन थालेपछि घरव्यवहार चलाउन सहज भएको उनको भनाइ छ। यसअघि विकास आयोजनामा श्रमदान र ज्यालामा काम गर्ने महिलाको सङ्ख्या अत्यधिक थियो। हाल फुर्सद भएका सबैले काम गर्छन्। खेतबारी र घरायसी काममा श्रीमान् श्रीमतीसँगसँगै हुन्छन्।