हुम्ला - सदरमुकाम सिमकोट बजार क्षेत्रको विभिन्न चोक तथा ढलको सरसफाइ एक विदेशी नागरिकले गरेका छन्। बजार क्षेत्रमा मुख्य चोक , एयरपोर्ट चोक, तीनधारा, कालिञ्चोक र लोतान्त्रिक चोकलाई यहाँ घुम्न आएका स्पेनी नागरिक कार्लेस मार्टी सोबिराले सफाइ गरेका हुन्।
उनले भने “ यति सुन्दर स्थानमा फोहरले दुर्गन्धित हुँदा नरमाइलो लाग्यो। यसैले सरसफाइमा जुटेको हुँ। ” उनले तीनधारामा ढुङगा किनेर बिछ्याउने कार्यसमेत गरेका छन्।
उनले तीन दिन लगाएर सरसफाइ गरे। सफाइ गर्ने औजार पनि उनी आफैँले किनेका थिए। तीनधारामा भने उनलाई तीन अन्य स्थानीयवासीले सहयोग गरेका थिए।
सोबिरालाई हर्कसिंह भण्डारी र खेम निरौलाले पनि सहयोग गरेका थिए। सिमकोट गाउँपालिकाले फोहर व्यवस्थापनका लागि बजेटसमेत छुट्याएर कर्मचारीसमेत राखेको छ। तर बजार क्षेत्र सधैँ दुर्गन्धित देखिन्छ। ढलको पानी बाटोमा बगेर जाँदा दुर्गन्धित बनेको हो।