अस्पतालका सेवा सञ्चालन गर्नै मुस्किल

काठमाडौँ । चितवनका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोनाको सङ्क्रमण तीव्र बढेपछि अस्पतालको सेवा प्रभावित हुन थालेको छ। 

भरतपुर अस्पतालले जिओपिडि र नियमित शल्यक्रिया सेवा आजदेखि बन्द गरेको  छ। शुक्रबारसम्म अस्पतालमा ११ चिकित्सकसहित ७७ स्वास्थ्यकर्मी तथा कर्मचारी सङक्रमित भइसकेका छन्। अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेलका अनुसार जिओपिडि हेर्ने चिकित्सकले कोभिडका बिरामी हेर्नुपर्ने भएकाले तत्कालका लागि सेवा बन्द गरिएको हो। अस्पतालले बहिरङ्ग सेवामा चाप घटाउन बिहान ८ः३० बजेबाट जिओपिडि सञ्चालन गरेको थियो।

छिटो अस्पताल आउने बिरामीका लागि लामो समय कुर्नुपर्ने बाध्यतासमेत हटेको थियो। यस्तै, पछि शल्यक्रिया गर्न मिल्ने बिरामीको शल्यक्रिया पनि तत्कालका लागि रोकिएको हो। यसबाट बिरामीलाई समस्या नपर्ने पौडेलको भनाइ छ। अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार परीक्षण नगरिएका धेरै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीमा पनि सङ्क्रमणको लक्षण देखिएका छन्। 

दैनिक यो सङ्ख्या बढ्दो छ। अन्य विभागमा पनि जनशक्तिको समस्या भए पनि आलोपालो गरेर व्यवस्थापन गरिएको उनले बताए। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि ठूलो सङ्ख्यामा चिकित्सक तथा स्वास्थ्यकर्मी कोरोनाबाट प्रभावित भएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×