काठमाडौँ - आयरल्याण्डका अलराउण्डर केभिन ओ’ब्रायन ले सबैखाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।
ओ’ब्रायनले मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत सन्यास लिएको जानकारी गराएका हुन्। ३८ वर्षीय ओ’ब्रायनले पछिल्लो पटक सन् २०२१ मा युएईमा भएको टी-२० विश्वकपमा नामिबिया विरुद्ध खेलेका थिए।
ओ’ब्रायनले गत वर्ष नै एकदिवशी अन्तर्राष्ट्रियबाट सन्यास लिँदै टेस्ट र टी-२० मा निरन्तरता दिने बताएका थिए। ओ’ब्रायनले आगामी अक्टोबर-नोभेम्बरमा अष्ट्रेलियामा हुने आईसीसी टी-२० विश्वकपसम्म टिममा रहन चाहे पनि टिममा पर्न छाडेपछि सन्यास लिएको उनको आशय छ।
‘आज मैले १६ वर्ष र मेरो देशका लागि ३८९ खेलपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेको छु। मैले अष्ट्रेलियामा टी-२० विश्वकपमा मेरो करियर अन्त्य गर्ने आशा राखेको थिएँ तर गत वर्षको विश्वकपपछि आइरिस टिममा परेको छैन। छनोटकर्ता र व्यवस्थापनले अरु नै कुरा खोजिरहेको मलाई अनुभव भएको छ’, ओ’ब्रायनले लेखेका छन्।
उनले आयरल्याण्डका लागि खेलेको प्रत्येक मिनेटमा आफू रमाएको र राष्ट्रिय टिममा खेल्दाको धेरै राम्रा क्षणहरु रहेको बताएका छन्। उनले आफ्नो करियरमा सहयोग गरेका सबै प्रशिक्षकहरु र आफ्नो परिवारलाई धन्यवाद दिएका छन्।
ओ’ब्रायनले अब आफू जीवन र करियरको अर्को चरणमा पुगेको र यो सही समय रहेको बताएका छन्। उनले अब आफ्नै कोचिङ एकेडेमीलाई विकास गर्न लाग्ने र भविष्यमा केही राम्रा अवसरहरु समेत रहेको खुलाएका छन्।
यस्तै विदेशमा प्रशिक्षणको अनुभव लिने र केही अन्तर्राष्ट्रिय टिमहरुसँग काम गर्ने अवसर पाउने आशा उनले राखेका छन्। उनले आयरल्याण्ड लागि ३ टेस्ट, १५३ एकदिवशीय र ११० टी-२० खेल खेलेका छन्। हरेक फर्म्याटमा शतक प्रहार गरेका उनले टेस्ट र टी-२० मा १-१ तथा एकदिवशीयमा २ शतक प्रहार गरेका छन्।
आयरल्याण्डले खेलेका ३ वटै टेस्ट खेलेका ओ’ब्रायन टेस्टमा शतक प्रहार गर्ने आयरल्याण्डका एक्ला खेलाडी हुन्। उनले सन् २०११ को विश्वकपमा इंग्ल्याण्ड विरुद्ध उत्कृष्ट ब्याटिङ गर्दै आयरल्याण्डलाई जित दिलाएका थिए। उनले ६३ बलमै ११३ रन बनाएपछि आयरल्याण्डले इंग्ल्याण्ड विरुद्ध ३२८ रनको लक्ष्य पूरा गरेको थियो।
ओ’ब्रायनले नेपालमा आएर काठमाडौं किंग्स-११ बाट एभरेष्ट प्रिमियर लिग ईपीएलसमेत खेलेका छन्।