काठमाडौँ - इंग्लिस प्रिमियर लिगमा शनिबार सात खेल हुँदै छन्।
आज म्यानचेस्टर सिटी, आर्सनल, म्यानचेस्टर युनाइटेड जस्ता ठुला क्लब आ-आफ्नो खेलका लागि मैदान उत्रिँदै छन्। आज हुने पहिलो खेलमा एस्टन भिल्लाले घरेलु मैदान भिल्ला पार्कमा एभर्टनको सामान गर्दैछ। खेल नेपाली समय अनुसार साँझ सवा ५ बजेबाट सुरु हुनेछ।
दुवै टोली आज पहिलो जित निकाल्ने प्रयासमा हुनेछन्। पहिलो खेलमा एस्टन भिल्लाले बर्नमाउथसँग २-० तथा एभर्टनले चेल्सीसँग १-० को पराजय व्यहोरेका थिए। त्यस्तै, राति पौने ८ बजेबाट एकै साथ ५ खेल हुँदै छन्। जसमा साउथह्यामटनले लिड्स युनाइटेड, आर्सनलले लेस्टर सिटी, ब्राइटनले न्युकासल युनाइटेड, म्यानचेस्टर सिटीले बर्नमाउथ र उल्भ्सले फुलहमको सामना गर्नेछन्।
घरेलु मैदान सेन्ट मेरिज स्टेडियमा लिड्स विरुद्ध भिड्दै गर्दा साउथह्यामटनको लक्ष्य पहिलो जित निकाल्ने हुने छ। उसले पहिलो खेलमा टोटेनहमसँग ४-१ को फराकिलो हार व्यहोरेको थियो।
लिड्स पनि घरेलु टोलीलाई स्तब्ध पार्दै लगातार दोस्रो जित निकाल्ने सोचमा छ। उसले पहिलो खेलमा उल्भ्सलाई २-१ ले हराएको थियो। घरेलु मैदान इमिरेट्स स्टेडियममा लेस्टरको सामना गर्न लागेको आर्सनल लगातार दोस्रो जित निकाल्ने सोचमा हुनेछ। उसले पहिलो खेलमा क्रिस्टल प्यालेसलाई २-० ले पराजित गरेको थियो।
लेस्टर पनि घरेलु टोलीलाई पराजित गर्दै पहिलो जित निकाल्ने प्रयासमा छ। उ पहिलो खेलमा ब्रेन्टफोर्डसँग २-२ को बराबरीमा रोकिएको थियो। घरेलु मैदान फाल्मेर स्टेडियमा न्युकासल युनाइटेडसँग खेल्दा ब्राइटनको लक्ष्य लगातार दोस्रो जित निकाल्नु हुनेछ। उसले पहिलो खेलमा म्यानचेस्टर युनाइटेलाई २-१ ले पराजित गरेको थियो।
न्युकासल पनि आज लगातार दोस्रो जितको खोजीमा हुनेछ। उसले पहिलो खेलमा नटिङ्घम फरेस्टलाई २-० ले हराएको थियो। सिटीले घेरेलु मैदान इतिहाद स्टेडियममा बर्नमाउथको सामना गर्नेछ। एक अर्का विरुद्ध भिड्दै गर्दा दुवै टोलीको लक्ष्य लगातार दोस्रो जित निकाल्नु हुनेछ।
सिटीले पहिलो खेलमा वेस्टह्याम युनाइटेड तथा बर्नमाउथले एस्टन भिल्लालाई समान २-० ले पराजित गरेका थिए। आज हुने अन्तिम खेलमा म्यनचेस्टर युनाइटेडले घरेलु टोली ब्रेन्टफोर्डको सामना गर्नेछ। खेल जिटेक कम्युनिटी स्टेडियममार राति सवा १० बजेबाट सुरु हुनेछ।
दुवै टोली पहिलो जित निकाल्ने लक्ष्यका मैदानमा उत्रिँदै छन्। पहिलो खेलमा युनाइटे ब्राइटनसँग २-१ पराजित हुँदा ब्रेन्टफोर्टले लेस्टर सिटीसँग २-२ को बराबरी खेलेको थियो।