काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले समयमा नतिजा निकाल्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएका छन्। मंगलवार परीक्षा नियन्त्रण कार्यालय बल्खुको अनुगमनपछि सहकुलपति पौडेलले कुनै पनि बहाना नगरी समयमै विद्यार्थीको नतिजा निकाल्न निर्देशन दिएका हुन् ।
नतिजामा ढिलाइ हुँदा कतिपय खुलेका आयोगमा परीक्षा दिन नपाएको भन्ने विद्यार्थीको गुनासो रहेको बताउदै मन्त्री पौडेलले नतिजा प्रकाशन नहुँदा विद्यार्थी त्यो अवसरबाट वञ्चित हुने अवस्था आएको बताए । उनले फास्ट ट्रयाकबाट नतिजा निकाल्न निर्देशन दिए।
सामान्यतया परीक्षा भएको ३ महिनापछि नतिजा आउने भएपनि ६ महिना पुग्दासम्म विश्वविद्यालयले नतिजा निकालेको छैन । परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने जनशक्ति अभावका कारण समयमा नतिजा निकाल्न नसकेको जानकारी गराउनुभएको थियो । जोशीले पर्याप्त जनशक्ति भए परीक्षापछिको तीन महिनाभित्र रिजल्ट निकाल्ने बताउनुभयो । परीक्षा नियन्त्रक कार्यालयमा २२४ जना कर्मचारी हुनुपर्नेमा १३७ जनाले काम गरिरहेकाले समयमै नतिजा दिन नसकेको उनको स्वीकारोक्ति थियो ।
जवाफमा मन्त्री पौडेलले जनशक्ति अभाव भए सेवा आयोगलाई भनेर अस्थायी कर्मचारी ल्याएर भएपनि समयमा सेवाग्राहीको काम हुनुपर्नेमा जोड दिए । देशकै ठूलो विश्वविद्यालयमा पुरानो प्रणाली रहेको भन्दै यसको सुधारका लागि नयाँ योजना बनाउन पनि उनले प्रशासनसँग आग्रह गरे ।