काठमाडौँ - शादब खानले अलराउन्ड प्रदर्शन गरेपछि पाकिस्तानले गएराती तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा वेष्ट इन्डिजलाई डकवर्थ-लुइस पद्धतीमा ५३ रनले हराएको छ। जितसँगै पाकिस्तानले तीन खेलको शृंखला क्लिनस्विप गरेको छ।
शादब खानले ८६ रन बनाएपछि मुल्तान क्रिकेट मैदानमा टस जितेर ब्याटिङ पाकिस्तानले निर्धारित ४८ ओभरमा ९ विकेट गुमाएर २६९ रन बनाएको थियो। २७० रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले ३७.२ ओभरमा सबै विकेट गुमाएर २१६ रनमात्र बनायो। वर्षाका कारण खेल ४८ रनमा छोट्याइएको थियो।
शादब खानले ७८ बलमा ४ चौका र ३ छक्कासहित ८६ रन बनाए। ओपनर इमाम उल हकले ६२ रन बनाए। उनले ६८ बलमा ७ चौका र १ छक्का प्रहार गरेका थिए। अर्का ओपनर फखर जमानले ३५ रन बनाए। खुशदिल शाहले ३४ रन बनाए भने मोहम्मद रिजवानले ११ रन बनाएका थिए।
वेष्ट इन्डिजका निकोलस पुरनले ४ विकेट लिए। कीमो पाउलले २ विकेट लिँदा जयडेन सिल्स, हाएडेन वाल्स र अकील होसैनले १/१ विकेट लिएका थिए।
२७० रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजका लागि होसैनले सबैभन्दा धेरै ६० रन बनाए। केसी कार्टेले ३३ रन बनाए। शाई होप र पाउलले समान २१ रन बनाए।
पाकिस्तानका शादब खानले ४ विकेट लिए। हसन अली र मोहम्मद रिजवानले समान २ विकेट लिए। शहनावज दहानी र मोहम्मद वासिमले १/१ विकेट लिएका थिए।
पाकिस्तानले पहिलो खेल ५ विकेटले जितेको थियो भने दोस्रो खेल १२० रनले जितेको थियो।