काठमाडौँ - बैंक, वित्तीय संस्थाको नाफासँगै जोखिम पनि बढेको छ। चालू आर्थिक वर्ष (आव) २०७९/८० को तेस्रो त्रैमासमा आइपुग्दा बैंकहरूको नाफामा सुधार आएसँगै खराब कर्जा पनि उच्च दरमा वित्तीय बढेको देखिएको छ।
प्रकाशित अपरिष्कृत विवरणअनुसार २१ ओटा वाणिज्य बैंकहरूले चालू आवको चैतसम्ममा कुल ४८ अर्ब ७० करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। अघिल्लो आवको यसै अवधिको तुलनामा यो ११ दशमलव ६७ प्रतिशतले बढी हो। गत आवको चैतसम्ममा बैंकहरूले ४३ अर्ब ६१ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएका थिए।
चैतसम्ममा सबैभन्दा बढी नबिल बैंकले ५ अर्ब ११ करोड रुपैयाँ नाफा गरेको छ। अघिल्लो आवको सोही त्रैमासको तुलनामा सर्वाधिक नाफा वृद्धिदर एभरेष्ट बैंकको छ। उसले ६२ दशमलव ६३ प्रतिशतले नाफा बढाएको देखिएको छ। चैतसम्ममा सातओटा बैंकको नाफा पोहोरको तुलनामा घटेको देखिएको छ।
आर्थिक अभियान दैनिकबाट