झापा । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ‘सांसदले विदेशीलाई सूचना बेच्छन्’ भन्ने संसदमा बोलेको अभिव्यक्ति संसद रेकर्डबाट हटाउन माग गरेका छन् । बिहीबार नेपाल विद्यार्थी संघ झापा–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले गृहमन्त्रीले संसदमा गएर त्यस प्रकारको अभिव्यक्ति दिन नमिल्ने बताए । उनले सभामुख देवराज घिमिरे गृहमन्त्रीको उक्त अभिव्यक्तिप्रति सहमत हो भन्दै प्रश्न गरेका छन् । सहमति नभए संसदको रेकर्डबाट उक्त अभिव्यक्ति हटाउन आग्रह गर्दै उनले गृहमन्त्रीसँग त्यसको सूचना छ भने पक्राउ गरी कारबाही गर्न आग्रह गरे ।
भ्रष्टाचारका फाइल खोल्ने कुरा मात्रै नभई २०४६ सालपछिका सबै उच्च पदस्थ व्यक्तिहरूको फाइल खोलेर कारबाही गर्न उनले आग्रह गरे । कांग्रेसका कसको कसको छानबिन गर्ने हो गरे हुने तर गम्भीर रूपमा छानबिन हुनुपर्ने बताए ।