काठमाडौँ - छात्राको स्वास्थ्य र शैक्षिकस्तरमा सुधार गर्ने उद्देश्यले किशोरीहरूले महिनावारी हुँदा प्रयोग गर्ने सेनिटरी प्याडमा सरकारले ठूलो लगानी गर्दै आएको छ तर त्यस्ता प्याडको उपयोग र गुणस्तरमा गम्भीर समस्या देखिएको छ।
स्कुले छात्रालाई निःशुल्क रूपमा उपलब्ध गराइने सेनेटरी प्याड पालिकाहरूले मापदण्डअनुरूपको खरिद गर्ने गरेको दाबी गरे पनि छात्राले रुचाएका छैनन्। काठमाडौँको दक्षिणकाली नगरपालिकास्थित अरुणोदय माध्यमिक विद्यालयकी कक्षा १० की छात्रा समृद्धि राईले पसलमा पाइने सेनेटरी प्याडभन्दा नराम्रो भएको टिप्पणी गर्दै भने, “आकार पनि सानो छ। रगतै सोस्दैन।”
आर्थिक वर्ष २०७६/७७ मा छात्राका लागि सेनिटरी प्याड वितरण गर्न एक अर्ब २७ करोड रुपियाँ र आर्थिक वर्ष २०७७/७८ मा एक अर्ब ८२ करोड रुपियाँ खर्च गरेको थियो भने चालू आवमा एक अर्ब ४३ करोड रुपियाँ विनियोजन गरिएको छ। यो समाचार गोरखापत्र दैनिकमा छ ।