काठमाडौँ । बागलुङमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन समुदायमा फैलिएसँगै सार्वजनिक सेवा प्रभावित हुन थालेका छन्।
सेवाग्राहीको भीडभाड हुने सरकारी कार्यालयमा सङ्क्रमणको जोखिम तीव्र छ। बढ्दो सङ्क्रमणलाई हेरेर सार्वजनिक निकायले सेवा कटौतीदेखि स्वास्थ्य सुरक्षा मापदण्डमा कडाइ गरेका छन्। मालपोत कार्यालयले आइतबारदेखि लागू हुने गरी अत्यावश्यकबाहेक नियमित सेवा प्रवाहलाई स्थगन गरेको छ। चारजना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको र अन्य कर्मचारीमा पनि मिल्दाजुल्दा लक्षण देखिएर घरमै एकान्तबासमा बसेकाले कार्यालय सञ्चालनमा कठिनाइ उत्पन्न भएको मालपोत अधिकृत देवेन्द्रबहादुर थापाले बताए।
अर्को सूचना नआइञ्जेलसम्मलाई कार्यालयको सेवा प्रवाह स्थगन गरिएको उनले जनाए। मालपोत सेवाग्राहीको बढी भीड लाग्ने कार्यालय हो। सेवा रोकिएपछि बेलैमा सेवा लिनबाट सर्वसाधारण वञ्चित हुने स्थिति सिर्जना भएको छ। मालपोतको सेवा लिन दूरदराजदेखि सर्वसाधारण सदरमुकाम आउँछन्। यातायात व्यवस्था कार्यालयले पनि कोरोना महामारीको नयाँ लहर आएपछि सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक परीक्षा लिन सकेको छैन। कार्यालय प्रमुख पारसिंह थापाले अन्य सेवा प्रवाहमा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा ध्यान दिइएको बताए।
“लाइसेन्सको ट्रायलमा बढी भीडभाड हुने र व्यवस्थापनमा चुनौती देखिएपछि अहिले त्यसको परीक्षा हुन सकिरहेको छैन”, उनले भने, “अरू नियमित सेवा लिन आउने सेवाग्राहीको पनि अहिले कार्यालयमा चाप कम छ।” उनले रोकिएको ट्रायल परीक्षाबारे सरोकार भएका पक्षसँगको छलफलपछि थप निर्णय लिइने बताए। सेवाग्राही बढी आउने जिल्ला प्रशासन, नापीलगायतका कार्यालयमा सङ्क्रमणको जोखिम उच्च छ। कतिपय सार्वजनिक क्षेत्रमा जनस्वास्थ्य मापदण्डको पालनामा हेलचेक्राइँ भएको देखिन्छ।
सार्वजनिक सेवा प्रवाहलाई व्यवस्थित र सुरक्षित बनाउन जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले नयाँ नियम बनाएको छ।