काठमाडौँ - नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य कामना विष्टसम्मिलित पुलिस क्लब माल्दिभ्स भलिबल एसोसिएसन कपको फाइनलमा प्रवेश गरेको छ।
माल्दिभ्स राजधानी मालेस्थित सोसल सेन्टर इन्डोर हलमा गएराति भएको तेस्रो सेमिफाइनलमा क्लब इगललाई ३–१ को सेटमा हराउँदै पुलिस फाइनलमा प्रवेश गरेको हो।
खेलमा पुलिसले पहिलो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको थियो। दोस्रो सेट भने उसले १७–२५ ले गुमाउन पुग्यो। तेस्रो सेटमा २५–२० को जित निकाल्दै पुलिस जित नतिजक पुगेको थियो। रोमाञ्चक बनेको चौथो सेटमा पुलिसले १९–१९ को बराबरीबाट अघि बढ्दै २५–२० को जित हात पार्दै फाइनलमा स्थान पक्का गरेको हो।
पुलिसले अब उपाधिको लागि क्लब वाम्कोको सामना गर्नेछ। वान्कोले पहिलो सेमिफाइनलमा पुलिसलाई ३–२ को सेटमा हराउँदै फाइनलको यात्रा तय गरेको थियो।
नेपाली राष्ट्रिय टोलीकी अर्की सदस्य उषा भण्डारीआवद्ध दिबेही सिफान्जी क्लब भने चार खेलमध्ये तीन म्याच हार्दै समूह चरणबाटै बाहिरिसकेको छ।