जाजरकोट - आठबिसकोट नगरपालिका रुकुमपश्चिमले नगरपालिकालाई खरको छानामुक्त बनाउने काम अघि बढाएको छ। नगरपालिकाले पहिलो चरणमा नौ सय घरपरिवारलाई जस्तापाता वितरण गरेको छ। नगरप्रमुख रवि केसीले खरको छानाका कारण आगलागी बढी हुने र मानवीय क्षतिसमेत हुने भएकाले जस्तापाता वितरण गर्ने कार्यक्रम ल्याएको बताए। आजदेखि नगरपालिकाभर जस्तापाता वितरण गर्न थालिएको उनको भनाइ छ।
नगरपालिकाले खरका छाना भएका घरको सङ्ख्या भने पहिले नै सङ्कलन गरेको थियो। वडा १ मा ५०, २ मा ४६, ३ मा ८७, ४ मा ४४ घरपरिवारलाई वितरण गरिने छ। त्यस्तै, वडा ५ मा ५१, ६ मा ५५, ७ मा ४३, ८ मा ३६ र ९ मा ५३ घरपरिवारलाई जस्तापाता वितरण गरिने छ। वडा १० मा ७१, ११ मा ७२, १२ मा ५८, १३ मा ४१ र १४ मा ४० घरपरिवारलाई जस्तापाता वितरण गर्ने नगरपालिकाको योजना छ। अतिविपन्न घरपरिवारलाई समेत जस्तापाता वितरण गरिने नगरपालिकाले जनाएको छ।
नगरपालिकामा फुसका छाना हटाइ जस्तापाताको छानो राख्ने कार्यक्रमअन्तर्गत रु १३ करोड बजेट विनियोजन गरिएको छ। पहिलो चरणमा नौ करोडको जस्तापाता खरिद गरिएको र बाँकी आवश्यकताका आधारमा थप जस्तापाता खरिद गरिने पनि नगरपालिकाले बताएको छ।