काठमाडौँ । पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वर धाममा आज बिहानैदेखि भक्तजनको ओइरो लाग्न थालेको छ।
बाला चतुर्दशीको अवसर पारेर मन्दिरमा लगाइएको ३९औँ महापुराण सफल पार्न र आफ्ना दिवङ्गत पितृको नाममा दीप प्रज्वलन गर्न भक्तजनको ओइरो लाग्न थालेको हो। आज साँझ दीप प्रज्वलन गर्ने र रातभर जग्राम बस्ने भक्तजनका लागि बस्न पालको व्यवस्था गरिएको अर्जुनधारा जलेश्वर धाम विकास समितिका कोषाध्यक्ष मोहन जोशीले बताए। उनका अनुसार मङ्सिर १० गतेदेखि सुरु भएको महापुराणको आज सातौँ दिन साँझ गङ्गा आरती गरिनेछ। आरतीमा सहभागी हुन पूर्वी नेपालका विभिन्न स्थानबाट करिब एक लाख भक्तजन आउने अनुमान गरिएको छ। विगतमा बाला चतुर्दशीका दिन भारतको सिक्किम, दार्जलिङ, सिलिगुढी, विहारलगायत स्थानबाट भक्तजन आउने गरेकामा कोभिड–१९ का कारण अघिल्ला वर्षहरूमा जस्तो उलेख्य मात्र सहभागिता हुन नसक्ने कोषध्यक्ष जोशीको भनाइ थियो।
धार्मिक पर्यटन क्षेत्रमा नेपालको १००औँ सूचीमा समावेश भएको यस धामको विकास र प्रवर्द्धनका लागि गुरुयोजना तयार गरेर काम भइरहेको छ। धामले विगतमा मन्दिरको दक्षिण क्षेत्रमा साँढे चार विघा जमिन खरिद गरेर गुरुयोजना अनुसार कार्य गरिरहे पनि जग्गा अपुग भएका कारण थप १० कठ्ठा जमिन खरिद गरिएको थियो। रु. एक करोड २० लाखमा खरिद गरिएको जग्गाको रकम तिर्नका लागि यो महापुराणबाट सहयोग पुग्ने अपेक्षा गरिएको छ। समितिले घरदैलो कार्यक्रम नै गरेर रु. ७५ लाख जम्मा गरिसकेको र बाँकी रु. ७५ लाख यही बाला चतुर्दशीको अवसरमा लगाइएको पुराणबाट सङ्कलन हुने अपेक्षा गरिएको छ।
मेलालाई सफल पार्नका लागि सुरक्षा व्यवस्था, बिजुली बत्ती, सवारी पार्किङको व्यवस्थालगायत सबैको तयारी भइसकेको जनाइएको छ।