काठमाडौँ - महजोडी स्टारर फिल्म ‘महापुरुष’लाई बक्स अफिसमा राहत मिल्ने देखिएको छ। सौगात मल्ल र अनुपविक्रम शाही स्टारर एक्सन ड्रामा ‘लाखे’को प्रदर्शन मिति धकेलिएपछि ‘महापुरुष’ले एकल रिलिजको मौका पाएको हो।
पूर्वनिर्धारित कात्तिक ११ गतेको मितिबाट ‘लाखे’ कात्तिक १८ मा पुगेको छ। अब ‘लाखे’को बक्स अफिस प्रतिस्पर्धा सलोन बस्नेत अभिनित ‘मिलन’सँग हुनेछ।
फिल्म एउटै मितिमा आउने भएपछि शो विभाजन हुने र अन्ततः बक्स अफिस आँकडामा असर पर्ने समस्याबाट महापुरुषलाई राहत मिलेको छ। किनभने स्टारकास्टको हिसाबले ‘लाखे’ पनि बलियो फिल्म हो।
‘लाखे’ यसअघि तीनपटक सरिसकेको छ। दशैं छेकोमा रिलिज भएको लाखे ट्रेलरले राम्रो फिडब्याक प्राप्त गरेको छ।
भदौ ३१ गतेलाई रिलिज तय गरिएको ‘लाखे’ प्राविधिक काम नसकिएपछि कार्तिक ११ मा प्रदर्शन हुने तयारीमा थियो। ‘मह जोडी अभिनित चलचित्रलाई सम्मान गर्दै नयाँ प्रदर्शन मिति तय गरेका हौँ। दर्शकले नेपाली चलचित्रलाई माया गरिरहेको समयमा सम्भावना बोकेका चलचित्रहरू भिड्नु राम्रो होइन,’ चलचित्रका निर्माता डिपी भण्डारीले भने।