काठमाडौँ - चैत्राष्टमी (चैतेदसैँ)को अवसर पारेर आजदेखि बागलुङमा चैत्राष्टमी मेला सुरु हुँदैछ।
मेलामा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए। पर्यटनको प्रवद्र्धन, संस्कृतिको संरक्षण र परम्पराको निरन्तरता दिन मेला आयोजना गरिएको उनले बताए। बागलुङ कालिका मन्दिर परिसरमा पहिल्यैदेखि व्यापार मेलाका रूपमा चैतेदसैँ मेला लाग्ने गरेको छ। कालिका भगवती गुठीले केही वर्षअघिदेखि स्वस्फुर्त लाग्ने मेलालाई व्यवस्थापन गर्दै आएको छ। यस वर्ष पनि मेलामा भलिबल, राष्ट्रिय लोकदोहोरी, भजन प्रतियोगिता र छेलो फाल्ने प्रतियोगिता आयोजना गरिएको खड्काले जानकारी दिए।
आजदेखि सुरु हुने मेला यही चैत २८ गतेसम्म चल्नेछ। मेलामा आयोजना गरिएको भलिबल प्रतियोगिताको गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढा सागरले उद्घाटन गर्ने कार्यक्रम छ। मूल समारोहको उद्घाटन भने चैत २६ गते राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गर्ने गुठीले जनाएको छ। रु. ५३ लाख खर्च हुने अनुमान गरिएको मेला हेर्न कुनै शुल्क नलाग्ने खड्काले जानकारी दिए। मेलाका लागि कालिका मन्दिर परिसर सिँगारिएको छ। मेलामा झाँकी तथा विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन्।
बागलुङ कालिका भगवती गुठीले मेलाको आयोजना गरेको हो।