दमक फुडफेस्टिबलमा ५० लाखको कारोबार

झापा - झापाको दमकमा यही चैत २३ देखि २९ चैतसम्म सञ्चालित आठौँ दमक फुड फेस्टिबलमा करिब रु ५० लाखको कारोबार भएको छ। 

होटल व्यवसायी सङ्घ दमकको आयोजनामा आयोजित फुडफेस्टिबलमा करिब एक लाख व्यक्तिले अवलोकन गरेको  कार्यक्रम संयोजक भुपेन्द्रप्रसाद न्यौपानेले जानकारी दिए। धार्मिक, पर्यटकीय क्षेत्र तथा स्थानीय जनजातिका परिकारको प्रचारप्रसार गरी आन्तरिक पर्यटक भित्र्याउने उद्देश्यका साथ फुडफेस्टिबल आयोजना गरिएको उनले बताए। उक्त फेस्टिबलमा स्थानीय तथा राष्ट्रिय कलाकारले सातै दिन साङ्गीतिक प्रस्तुति दिएका थिए।

कोरोना महामारीका कारण तीन वर्ष फेस्टिबल हुन सकेको थिएन। यस वर्ष जोखिम घटेसँगै फेस्टिबलमा अवलोकनकर्ताको उत्साहजनक सहभागिता रहेको आयोजक होटल व्यवसायी सङ्घका अध्यक्ष योगराज दङ्गालले बताए। फेस्टिबलमा तीन दर्जनभन्दा बढी विभिन्न किसिमका व्यावसायिक कक्ष राखिएका थिए।

सो फेस्टिबलका अवसरमा हिमशिखर टेलिभिजका पत्रकार सुदीप अधिकारीलाई दमक पर्यटन पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो। सङ्घले हरेक वर्ष यो पुरस्कार स्थानीय एकजना पत्रकारलाई नगद, प्रमाणपत्रसहित प्रदान गर्दै आएको छ। फुड फेस्टिबल समापनमा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, होटल व्यवसायी महासङ्घका प्रदेश नं १ का अध्यक्ष राजन दङ्गाल, दमक–७ का वडाध्यक्ष भीम पौडेललगायतको उपस्थिति थियो।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×