५१ औँ दिनको बाटोमा ‘महापुरुष’

काठमाडौँ - डेढ दशक अगाडिसम्म नेपाली फिल्मलाई हलमा प्रदर्शनको ५१औँ दिन मनाउन गाह्रो हुँदैनथ्यो। केही फिल्महरूले प्रदर्शनको ‘गौरवमय १००औँ दिन’ समेत मनाउँथे। तर, पछिल्ला केही वर्षयता भने नेपाली फिल्मलाई हलमा १ साता टिक्न समेत मुस्किल देखिँदै आएको छ। यद्यपि, अझै पनि एकाध फिल्मले प्रदर्शनको ५१ दिन भने मनाइरहेका छन्।

कात्तिक ११ गतेदेखि प्रदर्शनमा आएको हरिवंश आचार्य अभिनित फिल्म ‘महापुरुष’ले प्रदर्शनको ५१औँ मनाउने देखिएको छ। यो फिल्म आज (बुधवार) प्रदर्शनको ४१ औँ दिनमा प्रदर्शनरत छ।

रिलिज भएको दिनदेखि दर्शकको उत्साहजनक साथ पाएको फिल्मले ४ सातामा नेपालमा १० करोड माथिको कमाई गरेपछि निर्माण टिमले केक काटेर खुशीयाली साटेको थियो। प्रदीप भट्टराईको लेखन एवं निर्देशन रहेको ‘महापुरुष’मा हरिवंशसँगै मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रविन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइली, राजाराम पौडेल लगायतको अभिनय रहेको छ।

‘वर्ड अफ माउथ’ बलियो भएको र नयाँ आशावादी नेपाली फिल्म नभएका कारण ‘महापुरुष’ हलमा लामो समयसम्म टिकिरहन सफल भएको हो।

राजधानीका थुप्रै हलमा अझै फिल्म राम्रै शोजका साथ प्रदर्शनरत छ। राजधानी बाहिरका हलहरूमा समेत फिल्म चलिरहेको छ। अमेरिका, अष्ट्रेलियामा समेत फिल्मले राम्रो व्यापार गरेको छ।

प्रदीप भट्टराईका यसअघिका सबै फिल्मले हलमा ५१औँ दिन मनाएका थिए। ‘जात्रा’, ‘शत्रुगते’, ‘जात्रै जात्रा’पछि प्रदीपको ‘महापुरुष’ले पनि हलमा ५१औँ दिन मनाउने निश्चितजस्तै देखिएको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×